आरती साहको हत्या पक्राउ नगपरेपछि आजपाद्धारा सरकारमाथि प्रश्न

समाचार

काठमाडौं । आम जनता पार्टी (आजपा)ले आरती साहका हत्यारालाई पक्राउ नगरिएपछि सरकारमाथि प्रश्न उठाएको छ ।

आरती साहको हत्यामा संलग्न रहेका उनका श्रीमान मोतीबाबु साहलाई पक्राउ गर्न सर्वोच्च अदालतले थुनामा पठाउँन आदेश दिएको पाँच दिन बित्दा समेत उनी पक्राउ नपरेपछि आजपाले सरकारसंग प्रश्न गरेको हो ।

मंसिर २० गते सर्वोच्च अदालतले मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले थुनामा पठाउन दिएको आदेश अनुसार मोतीबाबु साह पक्राउ नपरेपछि आजपाले किन पक्राउ गरिएको भन्दै सरकारसंग प्रश्न गरेको छ । आइतबार आजपाका प्रवक्ता चन्द्रभुषण साहले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई यथासिघ्र पक्राउ गर्न सरकारसंग माग गरेका छन् ।

‘आरती साह हत्या प्रकरणमा सम्मानित सर्वोच्च अदालतले आरोपित हत्याराहरु मध्ये मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको ५ दिन बितिसक्दा पनि हत्यारा हालसम्म पक्राउ नपरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ आजपा प्रवक्ता साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

न्याय सहित आफूहरुलाई दुव्र्यवहार गर्ने प्रहरी अधिकारीलाई कारवाहीको माग गर्दै आरती साहको परिवार विगत १७८ दिनदेखि काठमाडौंमा सडक संघर्ष गरिरहेको छ । ‘अनवरत न्यायको पर्खाईमा संघर्षरत पीडित परिवारलाई अदालतको निर्णयबाट केहि राहत तथा आंशिक न्याय प्राप्तिको अनुभूति भईरहेको विशेष महत्वपूर्ण समयमा राज्य पक्षबाट न्यायालयको निर्णय कार्यान्वयनमा भैईरहेको ढिल्लासुस्ती एंव उदाशीनताले राज्य पीडितको पक्षमा छ, कि पीडकको पक्षमा गम्भीर शंका उत्पन्न भएको छ’ बिज्ञप्तीमा भनिएको छ ।

राज्य पक्षको यस्तो चरम लापरवाही एवं अकर्मण्यताले गर्दा आरोपित फरार भएमा त्यसको र त्यसबाट सृजित हुनसक्ने विषम एवं जटिल परिस्थितिको जिम्मेवारी कसले लिने ? भन्दै आजपाले प्रश्न गरेको छ । नेपाल सरकार तथा गृह प्रशासन जवाफदेही हुने भन्दै गम्भीर हुन आजपाले आग्रह समेत गरेको छ ।

मोतीबाबु साहलाई यथाशीघ्र गिरफ्तार गर्दै कानूनी दायरामा ल्याई पुर्पक्षका लागि थुनामा पठाउन माग गरिएको छ । आन्दोलनरत पक्षको मागहरुलाई यथाशीघ्र सम्बोधन गर्न नेपाल सरकार गृह प्रशासन सहित सरोकारवाला सबै निकायसँग आजपाले माग गरेको छ ।

‘यस विषयको गम्भीरतालाई जिम्मेवारीबोधका साथ पालना गर्न अभियुक्त मोतीबाबु साहलाई यथाशीघ्र गिरफ्तार गर्दै कानूनी दायरामा ल्याई पुर्पक्षका लागि थुनामा पठाउन तथा आन्दोलनरत पक्षको मागहरुलाई यथाशीघ्र सम्बोधन गर्न गराउन नेपाल सरकार गृह प्रशासन सहित सरोकारवाला सबै निकायसँग माग गर्दछौं’ आजपा प्रवक्त साहले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २२ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा बस्दै आएकी २२ वर्षीय आरतीकुमारी साहको मृत्यु भएको हो । उनको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ । थप रकम नदिदाँ पटक–पटक आरतीलाई उनीहरुले कुटपिट गर्दै शारीरिक र मानसिक यातना दिँदै आएको आरोप छ ।

मृतक साहको परिवारले एसपी र डिएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सिआइबीद्वारा जाँच गर्नुपर्ने लगायतका माग राख्दै संघर्ष गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ