काठमाडौंमा मनाइयो भारतको गणतन्त्र दिवस, विभिन्न संघसंस्थालाई उपहार प्रदान

समाचार

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७५ औं गणतन्त्र दिवस मनाएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ भएको थियो । सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई पनि शुभकामना व्यक्त गरे ।

तत्पश्चात कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

भारतका राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिशन बारे चर्चा गरेकी थिइन् ।

कार्यक्रमका दौरान राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु. ५.०७ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरे ।

सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गरेको छ ।

राजदूत श्रीवास्तवले विभिन्न संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरे । दूतावासले भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा ३० वटा संस्थालाई नेरु. १९ लाख बराबरको पुस्तक उपहारस्वरुप वितरण गरेको छ ।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

दूतावासको सामाजिक सञ्जाल प्लाटफर्ममार्फत उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ