राइस मिलको जग्गा असारभित्रै अधिग्रहण हुने : मेयर साह

समाचार

राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौरबासीले देखेका सपना छिट्टै पूरा हुने बताएका छन् ।

गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राईस मिलको मैदानमा आयोजना गरिएको मेयर कप २०८० को उद्घाटन समारोहमा सम्बोधन गर्दै मेयर साहले जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढ़ी सकेकोले गौर राइस मिलको जग्गा चालू आर्थिक वर्षको अन्त्यसम्म अधिग्रहण हुने दावी गरे ।

मेयर साहले भने वर्षौंदेखि क्रिकेट खिलाडीहरुले खेल मैदानको लागि देख्दै आएको सपना अब पूरा हुने छन् । जग्गा अधिग्रहणको ७५ प्रतिशत काम असार मसान्तसम्म सकिने र त्यसपछि स्टेडियम निर्माणका लागि पहल समेत गरिने मेयर साहले आश्वासन दिएका हुन् ।

रौतहटमा पहिलो पटक आयोजना हुन लागेको पालिका क्रिकेट कप प्रतियोगिताका लागि राम्रो खिलाडी छनौट गर्ने मेयर कपको आयोजना गरिएकोले खिलाडीहरुलाई अनुसाशनमा बसेर आफ्नो प्रतिभा देखाउन आग्रह गरे ।

गौर राइस मिलको जग्गा अधिग्रहण गर्नको लागि २०७५ सालदेखि नै प्रक्रिया जारी रहेकोमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले सार्वजानिक सरोकारका विषय रहेको गौर राइस मिलको जग्गा अधिग्रहण गर्नका लागि १५ करोड रुपैयाँ बिनियोजन गरेर अधिग्रहणको प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यालय रौतहटलाई प्रदेश सरकारले पत्राचार समेत गरिसकेको छ ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पालामा प्रदेश सरकारले पत्र पठाउँदा पनि जिल्ला प्रशासन कार्यालयले पत्र अनुसार कार्यवाही अगाडी बढाउन नसक्दा प्रक्रिया ओझेलमा परेको छ ।

क्रिकेट संघका अध्यक्ष पवन साहको सभापतित्वमा सम्पन मेयर कप उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपाल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर, सशस्त्र प्रहरी बल नेपाल बीओपी गौर भन्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमर लामाको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

मेयर कपको पहिलो दिन भएको खेलमा गौर नगरपालिका वडा नम्बर १ ले गौर नगरपालिका वडा नम्बर ५ को टीमलाई पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ