जनकपुरमा महिला नेतृलाई उपेन्द्र यादवले प्रशिक्षण दिने

समाचार

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले पछिल्लो समय संगठन बिस्तार, सुद्दिढीकरण, पुनर्गठन जस्ता अभियानलाई तीब्रता दिएको छ ।

सोही अभियान अन्तर्गत भोलिदेखि जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघ मधेश प्रदेशका अगुवा महिला नेतृहरुका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना हुँदैछ ।

माघ १६ र १७ गतेका लागि जनकपुरको रमण टावरमा ‘संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद’ मुख्य नाराका साथ आयोजना हुन लागेको दुई दिवसीय कार्यक्रममा जसपा निकट मधेश प्रदेशका अगुवा महिला नेतृहरुको सहभागिता हुने जनाइएको छ ।

समाजवादी महिला संघका केन्द्रीय पदाधिकारी, मधेश प्रदेशका महिला पदााधिकारी, पार्टीका जिल्ला समिति, महिला सांसद र प्रदेश अन्तर्गत जसपा निकट स्थानीय जनप्रतिनिधि महिला नेताहरु उक्त कार्यक्रममा सहभागी हुँदैछन् ।

केन्द्रदेखि प्रदेश समितिको विभिन्न निकायबाट एक सय बढी महिला नेतृ सहभागी हुने उक्त कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेतृत्वले प्रशिक्षण दिने कार्यक्रम छ ।

राष्ट्रिय राजनीतिमा महिला सहभागिता, उनीहरुको भूमिका, नेपालको संविधान एवं ऐन कानूनमा महिला अधिकारको उल्लेखित प्रावधान, सामाजिक लोकतन्त्र, समसायिक राजनीतिक परिवेश लगायतका एजेन्डामा प्रशिक्षण दिइने समाजवादी महिला संघको मधेश प्रदेश समिति अध्यक्ष सञ्जीला यादवले जानकारी दिईन् ।

यसअघि हालैमात्र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्वमा विराटनगर, ओखलढुङ्गा, पोखरा, लुम्बिनी, लहान र जनकपुरमा प्रदेश एवं राष्ट्रिय समिति स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ