बोर्डको बैठकबाट लिखित सहमति भए ताल्चा खोलिने

समाचार

राकेश यादव, रौतहट । जिल्लाको गरुडा नगरपालिकामा लगाइएको ताला अहिलेसम्म खुलेको छैन । गएको पुस २० गतेका दिन विभिन्न माग राख्दै उपप्रमुख पुनम चौधरीको नेतृत्बमा कार्यालयमा लगाइएको ताला २५ दिन बितिसक्दा पनि यथावत नै रहेको हो ।

मुख्य गेटमा ताला लगाएर धर्ना बसेको कारण नगरपालिकाबाट प्रबाह हुने सेवा प्रभावित भएका छन् । नगरपालिकाको आन्तरिक प्रशासनिक कार्य प्रभावित हुनुको साथै विकास निर्माणका योजनाहरू समेत प्रभावित भएको हो ।

नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले कार्यपालिकाका बैठक नै नगरी आफ्नो मनोपोली ढंगबाट बजेट संचालन गर्ने गरेको आरोप नगर उपप्रमुख चौधरीको आरोप रहेको छ ।

आन्दोलनमा बसेका वडा अध्यक्ष कृष्णन्दन सहनीले बोर्डको बैठक बसाएपछि कार्यालयमा लगाइएको ताला खोल्ने बताएका छन् ।

कार्यपालिका बैठकबाट हिउँदे नगर अधिबेशन, विकास निर्माणका बजेट बाँटफाँट, कृषि, शिक्षा, तथा बिधुत महसुल छुट, कर्मचारीको तलब भुक्तानी, परिषदको निर्णय, ठोस योजना लगायतका बिषयमा पहिला बोर्डको बैठकमा लिखित निर्णय हुनु पर्ने अडान आन्दोलनकारीहरुको रहेको छ ।

आन्दोलनरत पक्षसँग छलफल गर्न र उठाएको माग सम्बोधन गर्न तयार रहेको नगर प्रमुख कन्थमनि जैसवालले बताएका छन् । नगर प्रमुख जैसवालले भने, ‘हामीले वार्ता गर्न प्रयास गरेका छौं, हदसम्म लचकता अपनाएकै छु, जसरी भएपनि कार्यालय संचालन हुनुपर्छ ।’ जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहवरमा छलफल हुँदा छ वटा बुँदा पालना गर्न आफू तयार भएपनि आन्दोलनकारी पक्ष तयार नभएको जानकारी दिए ।

आन्दोलनरत पक्ष र नगरप्रमुखको भनाइ मिल्दोजुल्दो देखिए पनि अबिश्वासको कारण दुवै पक्षमा विवाद रहेको बुझिएको छ ।

राजनीतिक कारण नगरपालिकालाइ बन्धक बनाउनु आम नागरिकको अधिकारको उलङ्घन गर्ने कार्य भएकोले नगरबासीको भाबना, मर्मलाइ ख्याल गर्दै समयमै समस्या समाधान गर्नु जरुरी रहेको छ ।

आन्दोलनमा बसेका उपप्रमुख, वडा अध्यक्ष र कार्यपालिका सदस्यको माग सम्बोधन गर्न कार्य पालिकाको बैठक नै मुख्य एजेन्डाको रुपमा अगाडी रहेकोले नगर प्रमुख जैसवालले कार्यपालिकाको बैठक बोलाएर छलफल गर्दा विवाद समाधान हुने भएकोले यसतर्फ मेयरलाइ सोच्नु पर्ने आवश्यक देखिन्छ ।

लामो समयसम्म विवाद कायम रहे कार्यालयको दैनिकी कारोवार समेत प्रभावित हुने हुँदा मेयरलाई छिट्टै समाधान तर्फ पहल गर्नु जरुरी रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ