जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शासकवर्गको उपेक्षाका कारण मधेशपछि परेको बताएका छन् ।
समाजवादी महिला संघ मधेश प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले शासकवर्गको मधेशप्रतिको विभेदकारी नीतिका कारण मधेश शिक्षा, स्वास्थ्य, रोजगार जस्तो आधारभुत क्षेत्रमा पछि परेको दाबी गरेका हुन् ।
मधेशी जनताले शासकवर्गको रबैया विरुद्ध गरेको भिषण विद्रोहको बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि केन्द्रीकृत मानसिकता बोकेका शासकवर्गको मधेशप्रतिको रबैया अझै सुध्रिन नसकेको उल्लेख गरे ।
समथल भूभाग, उर्बर भूमि जस्ता विकासका आधारभुत तत्वहरु मधेशमा भए पनि सबै क्षेत्रमा मधेशपछि पर्नुको एक मात्र कारण बिगतका गलत नीति, योजना र बिभेदकारी शासन प्रणाली नै रहेको उल्लेख गर्दै अध्यक्ष यादवले मुलुक संघीय शासन प्रणालीमा गए पनि विभेद उन्मुलन हुन नसकेको दाबी गरे ।
मधेश सरकारलाई दिने बजेट लगायतको सेवा सुबिधामा समेत विभेद भैरहेको उल्लेख गर्दै अध्यक्ष यादवले विभेद अन्त्य नभएसम्म मधेश विकास निर्माणमा फड्को मार्न नसक्ने उल्लेख गरे ।
समाजवादी महिला संघका प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य संजिला यादवको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा जसपा राजनीतिक समिति सद्स्य एवं समाजवादी महिला संघका केन्द्रिय अध्यक्ष निर्मला यादव, राजनीतिक समिति सदस्य संघीय सांसद रेखा कुमारी यादव, मधेश सरकारका अर्थमन्त्री संजय यादव, महिला बालबालिका मन्त्री सुरिता साह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
भोलिसम्म चल्ने प्रशिक्षणमा मधेश प्रदेशका आठ वटै जिल्लाबाट करिब एक सय जना महिला नेतृहरुको सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया