काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आफूलाई मानवअधिकारको गम्भीर उल्लंघनकर्ताको सूचिमा राखेकोमा आयोगसमक्ष कुन घट्नामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको भनेर सार्वजनिक गर्न चूनौति दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले मानवअधिकारको उल्लंघन गरेको भनेर सार्वजनिक गरेको सूचिमा आफ्नो नाम समावेश गरेपछि साहले आफ्नो तर्फबाट आज (बिहीबार) एक वक्तव्य जारी गर्दै यस्तो चूनौति दिएका हुन् ।
उनले जारी गरेको वक्तव्यमा भनिएको छ–‘मलाई मानवअधिकार उल्लंघनको दोषी देखाउने मानवअधिकार आयोगलाई चूनौति दिन चाहन्छु–मैले कुन घट्नामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको छु ? घट्नाको सत्य, तथ्य सार्वजनिक गर । यसरी मेरो चरित्र हत्या गर्ने र जनतालाई गुमराहमा राख्नु र बिनाआधार कसैको चरित्र हत्या गर्नु आँफैंमा मावनअधिकारको उल्लंघन हो ।’
मानवअधिकारजस्तो सम्मानित संस्थाको पदमा बसेर पूर्वाग्रह साँध्ने, कुण्ठा पोख्ने र जनतालाई भ्रमित पार्ने कार्य आँफैंमा आपराधिक कार्य भएको साहको टिप्पणी छ । उनले थप भनेका छन्–‘यस कार्यमा संलग्न आयोगका पदाधिकारीहरुले आफ्नो कमजोरी तत्काल नसच्याए आयोगउपर कानूनी लडाईं लड्न बाध्य हुने चेतावनी दिन चाहन्छु ।’
तपाईको प्रतिक्रिया