काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का युवा बैज्ञानिकहरुलाई उच्च मनोबलका साथ काम गर्न र नेपाली कृषकको आयस्तरमा सुधार ल्याउँने गरी अनुसन्धान कार्यलाई प्रभावकारी बनाउँनुपर्ने बताएका छन् ।
नार्कको आयोजना र फिड द फ्यूचर हर्टिकल्चर, यूएसएआईडीको आर्थिक सहयोगमा आजदेखि ललितपुरको खुमलटारमा आयोजित तरकारीको जातीय सुधार सम्बन्धी सात दिने तालिमको उदघाटन गर्दै मन्त्री भुसालले बिउको सुधार नगरेसम्म कृषिको बिकास सम्भव नभएको बताउँदै कृषिको अनुसन्धान अझै प्रभावकारी हुनुपर्ने बताए ।
तरकारीको जातीय सुधार बिषयको यो तालिमले एकदुई बर्षमा नेपालमा आयात हुने ठुलो मात्राको तरकारीका बिउलाई बिस्थापित गरी नेपालले बिकास गरेका जातहरुले उत्पादन र उत्पादकत्व बृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास उनले व्यक्त गरेका छन् ।
मन्त्री भुसालले तालीम प्राप्त वैज्ञानिकहरुले त्यसलाई व्यवहारमा लागू गरी वाली विशेषमा देशले निर्यात गर्नसक्ने वालीवस्तुहरुमा उन्नत प्रविधिको विकास गर्न जुट्नुपर्ने बताए । नार्कलाई उत्कृष्ट अनुसन्धान केन्द्र बनाउन मञ्त्रालय तत्पर रहेको र नार्कबाट सोही अनुरुपको योजना र कार्यक्रमको अपेक्षा गरेको पनि उनले बताए ।
तालिममा नार्क अन्तरगतका तरकारी बालीमा अनुसन्धानरत १५, बिभिन्न विश्वबिद्यालयका ५ संघीय तथा प्रादेशिक कृषि मन्त्रालय अन्तरगतका ६ निजि बिउबिजन कम्पनीका ४ गरी ३० जनाको सहभागिता रहेको छ ।
सहभागिहरुलाई नर्थ क्यारोलाइना विश्वविद्यालय अमेरिकाका एसोसियट प्रोफेसर डा.दिलिप पन्थी, वल्र्ड भेजिटेवल सेन्टरका डा.डेरेक वारचेन्जर लगायतका विज्ञहरुले प्रशिक्षण दिइरहेका छन् ।
कृषि मञ्त्रालयका सचिव रेवतीरमण पौडेलले यस्तो तालीमले नेपालका वैज्ञानिकहरुले नेपालमा रहेका विभिन्न बालीका रैथाने जातहरुको उपयोग गर्दै उन्नत जातको विकास गरी तिनको उत्पादन मार्फत् निर्यात गर्न सकिने सम्भावना रहेको बताए ।
नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले कार्यक्रमको अध्यक्षता गर्दै नार्कले आयात प्रतिष्थापन गर्न मद्दत पुग्ने अनुसन्धानका कार्यक्रम ल्याउने र नार्कका युवा वैज्ञानिकले अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान परियोजना ल्याउन र लागू गर्न सजिलो हुने वातावरण तयार गर्न लागेको बताए ।
उक्त कार्यक्रममा युनिभर्सिटी अफ क्यालिफोर्निया, हर्टिकल्चर इनोभेसन ल्याबका कृष्टेन वेकर, कृषि तथा वन विश्वविद्याय रामपुर चितवनको सेवा आयोगका अध्यक्ष डा.कल्याणी त्रिपाठी लगायतको सहभागिता रहेको थियो ।
परियोजना संयोजक खडकाले यो तालिमले नेपालको तरकारी बालीको जातीय सुधारमा कार्यरत बैज्ञानिक, प्राविधिकहरुको क्षमता अभिवृद्धि गरी तरकारी बालीको जातीय सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले खाद्यान्न बालीको भन्दा तरकारी बालीको जातीय विकासको काम कमजोर भएका कारण नेपालमा बर्षेनि ठुलो मात्रामा तरकारीका बीउहरु आयात गर्नुपरेको जानकारी दिए ।
राष्ट्रिय बालीरोग बिज्ञान अनुसन्धान केन्द्रका प्रमुख सुरज बैद्यले स्वागत मन्तव्य र बैज्ञानिक एवं सहपरियोजना संयोजक डा.रञ्जना रावलले कार्यक्रमको सञ्चालन गरेकी थिइन् । आजदेखि सुरु भएको सो तालिम सात दिनसम्म चल्नेछ ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले अन्तर्राष्ट्रिय वैज्ञानिक सँस्थाहरुसँगको सहकार्यमा सञ्चालन हुने यस्ता तालीमले नेपालका बैज्ञानिकहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धी र राष्ट्रको माग अनुरुपको अनुसन्धान गर्न सक्षम हुन मद्दत गर्ने बताए ।
तपाईको प्रतिक्रिया