जनकपुरधाम । जनकपुरधाममा संघीयता, लोकतन्त्र र गणतन्त्र विरुद्ध अराजकता फैलाउने कोशिश गरिरहेका तत्वहरु विरुद्ध गणतन्त्रवादीहरूले बिगुल फुकेका छन् ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता डा. विजय कुमार सिंहको निवासमा भएको तमलोपा, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत राजनीतिक नेताहरुको बैठकले ‘शहीदहरुको अमूल्य शहादत र जनताको निरन्तरको संघर्षले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वर्द्धनको निमित्त कुनै पनि मूल्य चुकाउन सदैव तत्पर रहेको सबै प्रतिक्रान्तिवादी प्रतिक्रियावादीहरुलाई चेताउँदछौं ।‘ भनेका छन् ।
तमलोपा अध्यक्ष वृषेशचन्द्र लाल तथा वरिष्ठ नेता डा. विजय कुमार सिंह, नेपाली काँग्रेसको नेता रामसरोज यादव तथा जीवनाथ चौधरी, नेकपा एमालेका जिला अध्यक्ष राजकिशोर यादव, वामपन्थी बुद्ध्जीवी रोशन जनकपुरी, नेकपा एकीकृत समाजवादीको जिला अध्यक्ष रामचन्द्र पण्डित तथा नेता शीतल झा, नेकपा एमालेका संतोष यादव, तमलोपाका रामजी रायले संयुक्त वक्तव्य प्रसारित गर्दै ‘जनताको सर्वोच्चता र संविधानको प्रस्तावना र अपरिवर्तनीय प्रावधान विपरित अराजकता फैलाउने तत्वहरुमाथि सरकार र प्रशासनको कारगर कारवाहीको आभावले आउने दिनहरुमा स्थिति अनियन्त्रित नहोस् भन्नेतिर सरकार र प्रशासनिक निकायहरुको ध्यानाकर्षण गराउँदै यसका विरुद्ध सम्पूर्ण गणतन्त्रवादी बौद्धिकवर्ग, युवा, विद्यार्थी, मजदूर–किसान, व्यवसायी र नागरिक समाजका सबै अंगलाई आ–आफ्नो सतरबाट सक्रियताका साथ अग्रसर हुन’ अपील गरेका छन् ।
जारी प्रेस विज्ञप्तिमा आगाडि भनिएको छ – ‘ जनताको लामो संघर्ष र अमर शहीदहरुको बलिदानले सामन्ती, निरंकूश, केन्द्रीकृत, एकात्मक राज्य व्यवस्था र त्यसको मूल केन्द्र निरंकूश राजशाहीको अन्त्य गर्दै नेपालका जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको खुला आकाशमा नयाँ युगमा प्रवेश गरेका छन् । यसले जनताको सर्वोच्चता अर्थात् देश र राज्यको सम्पूर्ण शक्ति जनतामा निहित रहेको स्थापित भएको हो । जनता नै सर्वोच्च र सार्वभौमसत्ता सम्पन्न शक्ति हो । जनताको शक्ति कुनै व्यक्ति वा पेंचमा हुँदैन, रहन सक्दैन । मुलुक र माटो जनताको हो कसैको व्यक्तिगत आर्जेको सम्पत्ति होइन, हुन सक्दैन । त्यसैले गणतन्त्र, लोकतन्त्र र संघीयता हाम्रो प्राण हो ।‘
त्यस्तै विज्ञप्तिमा राजतन्त्रप्रति कटाक्ष गर्दै ‘नेपालमा राजतन्त्रको इतिहास षडयन्त्र, आक्रमण, जीउज्यान इज्जत र सर्वस्वहरण, नाककान काट्ने, व्यक्तिगत र अनुचित कारणलर राज्यको शक्ति बन्दक–बिक्री गर्ने, जनअधिकार र लोकतन्त्र खोस्ने, प्रतिगमन गर्ने, सत्तालिप्साको निमित्त मारकाट गरी वंश नै निर्मूल गर्ने र धर्मको आवरणमासोझा–साझा जन साधारणलाई धूर्तापूर्ण ढंगले भ्रमित गरी निरंकूश राज गर्ने कुकृत्यले भरिएको इतिहास हो ।‘ भनिएको छ ।
केही दिनदेखि राजतन्त्रका कुरा गर्नेहरुलाई प्रतिक्रान्तिवादी भन्दै तिनी विरुद्ध एकजूट हुन यसरी अपील गरिएको छ –‘विभिन्न नाममा जनतालाई भ्रमित गर्दै केही प्रतिक्रान्तिवादी शक्तिहरु राजतन्त्र फर्काउने षडयन्त्रको व्यापार गर्दैछन् । जनताको सर्वोच्चता र संविधानको प्रस्तावना र अपरिवर्तनीय प्रावधान विपरित अराजकता फैलाउने तत्वहरुमाथि सरकार र प्रशासनको कारगर कारवाहीको आभावले आउने दिनहरुमा स्थिति अनियन्त्रित नहोस् भन्नेतिर सरकार र प्रशासनिक निकायहरुको ध्यानाकर्षण गराउँदै यसका विरुद्ध सम्पूर्ण गणतन्त्रवादी बौद्धिकवर्ग, युवा, विद्यार्थी, मजदूर–किसान, व्यवसायी र नागरिक समाजका सबै अंगलाई आ–आफ्नो सतरबाट सक्रियताका साथ अग्रसर हुन अपील गर्दछौं ।‘
तराई–मधेशको राजनीतिक चेतना र संघर्षको निमित्त प्रसिद्ध जनकपुरधामबाट यसरी गणतन्त्रको पक्षमा संगठित आवाजलाई विश्लेषकहरु महत्वपूर्ण मानेका छन् ।
तपाईको प्रतिक्रिया