राकेश यादव, रौतहट । रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाई कुटपिट गरि घरबाट निकाला गरेको घटना बाहिरिएको छ ।
प्रेम बिबाह गरेकी स्थानीय परोहा नगरपालिका ७ नरकटिया टोलकी ३० वर्षीया महिलालाई पति, सासु, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट सुसरालमा जाँदा कुटपिट गरी घरमा प्रवेश गर्नबाट निषेध गर्दा पीडितले उजुरी दिएपछि घटना बाहिरिएको हो ।
२०७७ सालमा स्थानीय आलोक पटेलसँग प्रेम विवाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीया किरण देवीले तेस्रो पटक गर्भबती भएपछी लोग्नेले गर्भ पतन गरे मात्र विवाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जाँदा कुटपिट गरेको पीडित महिलाले सुनाइन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै पीडितले दुई पटक गर्भ पतन गरिएको र तेस्रो पटक २ महिना गर्भ रहेको जानकारी गराउँदै कानुनी रुपमा पत्नी बनाउन गर्भपतन गर्नु पर्ने अडान लोग्नेको रहेको बताइन् ।
गएको शुक्रवार घरमा जाँदा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासु कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामुहिक रुपमा कुटपिट गरेको भिडियो आफुसँग रहेको समेत दावी गरेकी छिन् ।
प्रेम विवाह गरेका लोग्ने आलोक पटेलले म संग पटक पटक गरि १५ लाख रुपैयाँ बैग उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लिएको दावी गरिन् । उनले भनिन्, ‘अरुसँग ऋण लिएर सो रकम दिएको छु, थप रकम माग गर्दा दिन नसक्ने तथा लिएको ऋण तिर्नु पर्ने भन्दा लोग्नेले छोडेर अर्को बिहे गर्न लागेका छन् ।’
पीडित महिलाले आफु प्रति अन्याय गर्नेलाई कानुनी कार्यवाही हुनु पर्ने माग समेत गरेकी छन् । पीडक माथि कार्यवाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिइएको पीडितले बताएकी छन् ।
तपाईको प्रतिक्रिया