रौतहट । रौतहटको मौलापुर नगरपालिका वडा नं. ९ मा फर्जी विवाहका लागि नगरपालिकाबाट आर्थिक सहयोग लिने प्रयास असफल भएको छ ।
मौलापुर नगरपालिकाले विवाह गर्ने उमेर पुगेका छोरीका परिवारलाई पालिकाबाट ३० हजार आर्थिक सहयोग गर्दै आएको छ । मौलापुरकी मेयर रिनाकुमारी साहको पहलमा ञअसहायके साथ मेयरझ कार्यक्रम विगत लामो समयदेखी कार्यान्वयन हुदै आएको छ । यस योजनाबाट सयौं परिवारले लाभ लिईसकेको छ ।
वडाको सिफारिसमा पालिकाले निर्णय गरेर सो आर्थिक सहयोग गर्दै आएको छ । सोही क्रममा मौलापुर नगरपालिका–९ का वडा अध्यक्ष श्यामकिशोर साहले सोही ठाउँ निवास महिन्द्रराय यादवको छोरी सन्जु कुमारीको विवाह हुदै गरेकाले पालिकाको निर्णय अनुसार सो अनुदान सहयोग उपलब्ध गराई दिन सिफारिस गरेका थिए ।
वडा अध्यक्ष साहले गत पुस १८ गतेको मितिमा सो सिफारिस पालिकामा गरेका थिए । माघ २५ गते यादवको छोरी सन्जुको विवाह रौतहट जिल्लाको बृन्दावन नगरपालिका बौहरी निवासी ब्रह्मदेव राय यादवको छोरासंग विवाह भईरहेकाले पालिकाबाट दिइदै आएको ३० हजार आर्थिक सहयोग उपलब्ध गराई दिनका लागि वडा अध्यक्ष साहले सिफारिस गरेका थिए ।
वडा अध्यक्ष साहको सिफारिसका आधारमा पालिकाको निर्णयबाट सो रकम दिने भनेर निर्णय पनि भयो । लेखापालले ३० हजार बराबरको चेक पनि सन्जुका वुवा महिन्द्रको नाममा काटियो । तर जब सो चेक लिएर मेयर रिना साह महिन्द्रको घरमा पुगि अनि झसङ परिन् । महिन्द्रको घरमा कुनै विवाह नै छैन् । वडा अध्यक्षले फर्जी सिफारिस गरी सो रकम आफै लिएर खान खोजेको देखियो । अनि मेयर साहले सो चेक लिएर पालिका फर्किन् ।
वडा अध्यक्षले फर्जी विवाहको सिफारिस गरी नगरपालिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग खानखोजेपछि स्थानीयले विरोध गरेका छन् । उनीहरुले वडा अध्यक्ष साहलाई कारवाहीको माग समेत गरेका छन् । सर्वसधारण, गरिव परिवारलाई नगरपालिकाले गर्दै आएको सहयोग रकम हिनामिना गर्न फर्जी सिफारिस गर्ने वडाअध्यक्षलाई कडा कारवाही हुनुपर्ने माग स्थानीयले गरेका हुन् ।
तपाईको प्रतिक्रिया