गठबन्धनले फालेपछि माधव नेपालको हैसियत रहदैन : अध्यक्ष ओली

समाचार

राकेश यादव, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ मा नेकपा एमालेको बहुमतको सरकार बन्ने बताएका छन् । उनले मिशन ८४ अभियानले नै एमाले सरकारको नेतृत्व गर्ने दावी गरे ।

बिहीबार रौतहट जिल्लाको गरुडास्थित श्रीराम सुगर मिल्सको प्राँगणमा आयोजित नेकपा एमाले रौतहटको जिल्ला अधिवेशनको उद्घाटन गर्न आएका केन्द्रीय अध्यक्ष ओलीले सम्बोधन गर्दै एमालेको सरकार बने देशमा विकास, समृद्धि, सुशासन आउने बताए ।

गठबन्धनको सरकार माथि कटाक्ष गर्दै ओलीले नेकपा एमाले सरकारमा गएपछि पैसा छैन भन्दैन, तलब पनि बढाउँछ, जेष्ठ नागरिकको भत्ता बढाउँछ र नयाँ–नयाँ योजना कार्यान्वयन गर्ने बताए ।

गठबन्धन सरकारको कारण मुलुकमा अराजकता, बेरोजगारी र भ्रष्टाचारी बढेको टिप्पणी गरे । सत्ता गठबन्धनको सरकार असफलतातÞर्फ बढेकोले बर्तमान सरकारबाट आर्थिक समृद्धि, सुशासन कायम हुन नसक्ने दावी गरे ।

नेकपा एमाले सरकारमा भएको बेला सडक विस्तार, बैदेशिक रोजगारमा जाने युवाको संख्यामा कमी, शिक्षामा महिलाहरुको सहभागिता, अपांग, दलित, मुस्लिम, बृद्ध महिला, पुरुष, एकल महिलाले पाउने सामाजिक भत्तामा बृद्धि गरेको जिकिर गरे ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालप्रति लक्षित गर्दै ओलीले १५ वर्ष पार्टीको प्रमुख, प्रधानमन्त्री बनाएर राखेकोमा धोखा दिने अर्को पल्ट कुनै पनि हालतमा नजित्ने ठोकूवा गरे । उनले भने, ‘दुई तिहाईको सरकारलाइ धराशाही गर्ने नेपालको हैसियत अरुको खुट्टा कमाउनेमा पुगेको छ ।’

पार्टीले सञ्चालन गरेको मिशन ८४ अभियान पूरा गर्न जनताको माझमा गएर जनताको दुःख पीड़ा सुनेर सभ्य, शालीन विनम्रता अपनाएर समाधान गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिएका ओलीले ८४ को निर्वाचनमा रौतहटको ४ संसदीय, ८ प्रादेशिक तथा १८ स्थानीय तह र प्रत्येक वडामा एमाले जित्नु पर्ने बताए ।

गठबन्धनको भक्त भएका माधव कुमार नेपाललाई गठबन्धनले फालेपछि घरको नघाटको हुने भन्दै तीखो आलोचन गर्दै पूर्वप्रधानमन्त्री ओलीले एमालेसित गद्दारी गर्ने प्रभु साह पनि आफ्नै नगरपालिकामै सीमित भएर बस्ने बताए ।

कार्यक्रममा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, मधेश प्रदेश इंचार्ज योगेश भट्टराई, केन्द्रीय सदस्य अजय कुमार गुप्ता, लेखा समिति सदस्य राजकिशोर प्रसाद यादव, जिल्ला इंचार्ज पुरुषोत्तम पौडेलले आ–आफ्नो मन्तव्य राखेका थिए ।

जिल्ला संयोजक सचितानन्द साहको अध्यक्षता भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा पार्टी प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ