बलपूर्वक शिलान्यास गरिएकोले कार्यवाही गरिने : मेयर सिन्हा

समाचार

राकेश यादव, रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका नगर प्रमुख कौशल्या देवी सिन्हाले नगरपालिकाको कुनै पनि सहमति नलिइकन गरिएको बर्थिंग सेन्टरको शिलान्यासप्रति आपत्ति रहेको बताएकी छन् ।

उनले बलपूर्वक स्थानीय सरकारको बेवास्ता गर्दै गरिएको शिलान्यासको विषयमा नगरपालिकाबाट छानविन गरी कानूनी कार्यवाही गरिने चेतावनी समेत दिएकी हुन् ।

फागुन ५ गतेदेखि आयोजना हुने राष्ट्रपति रनिंग शील्ड प्रतियोगिता तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा हुने मेयर क्रिकेट कप २०८० को बारेमा जानकारी गराउने उद्देश्यले नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मलेनमा सम्बोधन गर्दै नगरपालिकाबाट अनुमति नै नलिई बलपूर्वक मन्दिरको जग्गामा गरिएको शिलान्यासको कार्य नियम विपरीत भएको दावी गरिन् ।

मेयर सिन्हाले माघ २७ गते मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले गरेका शिलान्यासप्रति स्थानीय सरकारको कुनै सहमति नरहेकोले छानविन गरी कार्यवाही गरिने बताइन् ।

उनले भनिन्, ‘नगरपालिकाले एक दिन पहिला नै शिलान्यासको कार्य नगर्न सूचना जारी गरेको थियो । मठ , मन्दिर र विद्यालयको जग्गाको संरक्षण गर्ने अधिकार नगरपालिकाको रहेको जानकारी हुँदाहुँदै पनि राजनीतिक बहुलयता देखाउने नियतले बलपूर्वक शिलान्यास गरिएकोले त्यो मान्य हुँदैन ।’

भौतिक पूर्वाधार निर्माणको कार्य गर्नु अघि सम्बन्धित पालिकाबाट सहमति अनुमति लिनु पर्ने स्थानीय सरकार सञ्चालन ऐनमा कÞानूनी व्यवस्था गरिएकोमा सोको उल्लंघन गर्दै गरिएको शिलान्यास कार्य कानून विपरीत भएकोले निर्माण कार्य समेत रोक्का गरिने चेतवानी दिइन् ।

नेपाली कांग्रेसका नगर प्रत्यासीद्वारा स्थानीय सरकारलाई चुनौती दिँदै बलपूर्वक शिलान्यास गराइएको भनाइ नगरप्रमुख सिन्हाको रहेको छ । पत्रकार सम्मलेनमा प्रमुख सिन्हाले नगरपालिका शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको क्षेत्रमा राम्रो कार्य गर्दै आएको दावी गरिन् । नगरपालिकाको आफ्नो प्रशासकीय भवन निर्माण भएकोले वर्षको १२ लाख भाडाको रकम बचत भएको बताइन् ।

क्रिकेटमा नेपालको वर्तमान अवस्थामा पहिचान विश्वस्तरमा बढ्दै गएकोले स्थानीय स्तरमा खिलाडी उत्पादन गर्ने उद्देश्यले मेयर कप २०८० को आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले बताए ।

प्रतियोगितामा खिलाडीको अनुसाशन महत्त्वपूर्ण हुने भएकोले अनुशासनमा आफ्नो प्रतिभालाई प्रस्तुत गर्न झाले खिलाडीहरुलाई आग्रह गरे ।

मेयर कपमा नगरपालिकाका ९ वटा वडाको टीम सहभागी गराइने छन् । फागुन १४ गते फाइनल खेल हुने मेयर कपमा ९ वटा टीमलाई तीन समूहमा राखिएको रौतहट जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपालले बताए ।

समूह ए मा वड़ा नम्बर १,६,८ समूह बी मा वड़ा नम्बर ४,५,७ र समूह सी मा २,३,९ लाई राखिएको छ । प्रतियोगिताको बिजेता टीमलाई नगद ३१ हजार र उपविजेता टीमलाई ११ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेलाई ५ हजार तथा बेस्ट बलर, बेस्ट फिल्डर, बेस्ट बैटमैन, बेस्ट किपरलाई २ हजार एक सय रुपैयाँ पुरस्कार दिइने छन् ।

कार्यक्रममा ९ वटा टीमलाई क्रिकेट सामग्रीको किट्स हस्तानान्तरण गरिएको छ । सम्मलेनमा रौतहट जिल्ला क्रिकेट संघका उपाध्यक्ष मनोज शर्मा, ९ वटा वडाका वडाअध्यक्ष तथा टिम कैप्टनको सहभागिता रहेको संघका प्रेस संयोजक प्रवीण टिबडेवालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ