आरोपित माथि कार्यवाही गर्न माग गर्दै प्रदर्शन

समाचार

राकेश यादव, रौतहट । चक्कू प्रहार गरी हत्या गरेको आरोपित माथि प्रहरीले कार्यवाही नगरेको भन्दै पीडित परिवारले शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटको मुख्य गेट अगाडि धर्ना दिएर प्रदर्शन गरेको छ ।

स्थानीय राजदेवी नगरपालिका वडा नम्बर ६ राजदेवी निवासी मृतक राहुल कुमार साहका परिवार तथा समर्थकले आरोपित थप २ जना माथि मुद्दा चलाउनु पर्ने माग राख्दै प्रदर्शन गरेको हो ।

गएको कार्तिक २४ गतेका दिन राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा संचालित नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालयमा आयोजना गरिएको शुभकामना तथा सांस्कृतिक कार्यक्रम हेर्न गएका राहुल कुमार साहलाई विद्यालय प्रांगणभन्दा बाहिर पूर्व तर्फ रहेको शिव मन्दिर नजिक राजदेवी नगरपालिका ६ निवासी राहुल कुमार गुप्ता र अनीश कुमार गुप्ताले धारिलो चक्कू प्रहार गरेका थिए ।

छातीमा चक्कू प्रहार गर्ने राहुल गुप्तालाइ घाइते भएका राहुल साहले समातेर विद्यालयमा ल्याएका थिए भने अनीश कुमार गुप्ता फरार भएका थिए ।

चक्कू प्रहारबाट गंभीर रुपमा घाइते भएका राहुल साहलाइ उपचारको लागि बीरगंज लैजादा उपचारको क्रममा कार्तिक २७ गते बिहान मृत्यु भएको मृतकका पिता नागेन्द्र साहले बताएका छन् ।

घटनामा संलग्न भएका राहुल गुप्ता, अनीश गुप्ता तथा योजनाकारको रुपमा मुकेश कुमार गुप्ता र विनोद भन्ने नरेश गुप्ता गरी ४ जना माथि किटाणी जाहेरी दरखास्त दिएकोमा प्रहरीले २ जनालाई छोडेर २ जना माथि मात्र मुद्दा चलाएको आरोप पीडितहरुको रहेको छ ।

घटनास्थलमा पक्राउ परेका राहुल गुप्ता रौतहट जिल्ला अदालतको आदेशमा अहिले पुर्पक्षको लागि जिल्ला कारगर कार्यालयमा रहेको छ भने अर्का आरोपित अनिश गुप्ता फरार रहेका छन् ।

मृतकका बुवा नागेन्द्र साहले छोराको हत्या गरेका अनीश गुप्तालाई प्रहरीले अहिलेसम्म पक्राउ किन गरेन भनि प्रहरी समक्ष प्रश्न गरेका छन् ।

छोराको उपचार भैरहेको अस्पतालमा पुगेका आरोपित मुकेश गुप्ता र हत्याको योजना बनाउने नरेश गुप्ता माथि पनि कÞानूनी कार्यवाही हुनुपर्ने माग गरेका छन् ।

मृतकको आमा गिरिजा देवीले छोराको हत्या गर्ने माथि कÞानूनी कार्यवाही गर्नु पर्ने माग गरेका छन् । छोराको शोकमा डुबेकी आमाले बाटोमा रुँदै हत्यारालाई प्रहरीले आर्थिक प्रलोभनमा परेर जोगाउन खोजेको आरोप लगाइन् । पढ्दै गरेको छोरालाई योजना बनाएर नै हत्या गरिएको दावी उनको रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले पीडित परिवारलाई भेटेर थप २ जना माथि अनुसन्धान गर्नको लागि माथिल्लो निकायबाट अनुमति लिने प्रयास गरिरहेको र अनुमति मिल्ने बित्तिकै कÞानूनी कार्यवाही गरिने आश्वासन दिएपछि प्रदर्शनमा आएकाहरु फर्केका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ