राकेश यादव, रौतहट । जिल्ला कारागार कार्यालय रौतहट गौरमा क्षमताभन्दा कैदी बन्दीहरु रहेका छन् । कारागारमा बस्ने कैदी बन्दीको क्षमता २ सय रहेकोमा अहिले ३२१ जना कैदी बन्दी रहेका हुन् ।
भौतिक पूर्वाधारको आभाव रहेको रौतहट कारागार कार्यालयमा विभिन्न मुद्दाका कैदी तथा थुनुवा कैदीको संख्या ३२१ रहेको कारागार कार्यालयका प्रमुख जेलर प्रशान्त कुमार बर्माले बताएका छन् । प्रयाप्त भवन नरहेको कारण क्षमताभन्दा बढी कैदीलाई राख्नु परेको समस्या उल्लेख गरे ।
प्रशासकीय अधिकृत बर्माले कारागार कार्यालयको पुरानो भवनदेखि दक्षिण तर्फमा अतिक्रमण गरी राखिएको करीव ४ कट्ठा जग्गा खाली गराएर माटो पुरिएको बताउँदै खाली जग्गामा थप भवन निर्माण गर्नको लागि केन्द्रीय कार्यालयबाट बजेट माग समेत गरिएको जानकारी गराएका छन् ।
गौर कारागार कार्यालयबाट ३० जना कैदीलाई अन्य कारागारमा पठाइएको समेत बताए । संख्या अनुसारको बस्ने कोठा नभएको कैदीहरुलाई बस्न समस्याको सामना गरिरहनु परेकोले भवन निर्माणमा केन्द्रीय कारागार विभागले चासो लिनु पर्ने भनाइ उनको रहेको छ ।
कारागार कार्यालयमा रहेका कैदी बन्दीमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दाका रहेका छन् । कर्तव्य ज्यान मुद्दाका कैदी पुरुष ६८ र महिला ६ जना तथा थुनुवा कैदी तर्फ पुरुष ३६ र महिला ३ जना गरी ११३ जना रहेका छन् ।
ज्यान मार्ने उद्योगका ८ जना, हातहतियार खरखजाना मुद्दाको ३ जना, लागूऔषध मुद्दाको ३३ जना, जवरदस्ती करनी मुद्दाका ५३ जना, डाका मुदाका ५ जना, मानव बेचबिखन मुद्दाका ५ जना चोरी मुद्दाका २९ जना, अपहरण तथा शरीर बंधक मुद्दाका १६ जना, ठगी, कीर्ते, बिगो लेनदेन मुद्दाका ६ जना कैदी तथा थुनुवा रहेको कारागार कार्यालयले जनाएको छ ।
खोटा चलन मुद्दाका ३, बहुविवाह मुद्दाका ५, कुटपिट सवारी अंगभंग मुद्दाका ६, सवारी ज्यान मुद्दाका २४, भन्सार छली मुद्दाका २, राज्य बिरुद्ध, सार्वजनिक मुद्दाका ५, नागरिकता, तेजाब मुद्दाका १ अभद्र व्यवहारका १ जना कैदी रहेका छन् ।
कारागार कैदी पुरुष १७८ र थुनुवा १२६ गरी ३०४ र महिला कैदी ११ तथा थुनुवा ३ गरी १४ जना र ३ जना नबालाक रहेको छ ।
विभिन्न मुद्दामा अभियोग सावित भई सजाय पाइसकेका तथा थुनछेकको क्रममा मुद्दाको अनुसन्धानका लागि कारागार चलान भएका कैदीलाई सहज रुपमा बास बस्नु पर्ने व्यवस्था गर्नु पर्ने अधिकार केन्द्रीय कारागार व्यवस्थापन विभागको रहेकोले मानव अधिकारको रक्षाको लागि समयमै सरकारले गौर कारागार कार्यालयको आभाव रहेको भवनको निर्माणमा सक्रियता देखाउनु पर्ने जरुरी रहेको छ ।
तपाईको प्रतिक्रिया