जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।
मधेश प्रदेश सभामा संविधानको धारा १८८ उपधारा २ बमोजिम मुख्यमन्त्री यादवले पेश गरेको आफूमाथिको विश्वासको मतको पक्षमा प्रदेश सभामा उपस्थित रहेका प्रदेश सभाका सदस्य मध्ये ६९ जनाले समर्थन जनाएका छन् । मतको विपक्ष अर्थात् मुख्यमन्त्रीका पक्षमा विश्वास नभएको भन्दै ३५ जनाले मत दिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
विश्वासको पक्षमा नेपाली काँग्रेसका २२ जना, जनता समाजवादी पार्टी नेपालका १८ जना, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ जना, नेकपा माओवादी केन्द्रका ९ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना, राप्रपा १ जना, संघीय समाजवादी पार्टीका १ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना र १ जना स्वतन्त्रका प्रदेश सभाका सदस्यहरुले मत दिए ।
विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा नेकपा एमालेका सभामुख बाहेकका २२ जना र जनमत पार्टीका १३ जनाले मतदान गरेका छन् । मधेश प्रदेशमा मत विभाजन गर्दा प्रदेश सभामा १०४ जना सदस्य उपस्थित थिए ।
जनमत पार्टीले माघ ९ गते प्रदेश सरकारबाट बाहिरिँदै मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।
तपाईको प्रतिक्रिया