काठमाडौं । नेपालको साँस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नयाँ भवन उद्घाटन भएको छ ।
शहरी विकास मन्त्रालयका मन्त्री धन बहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्घिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता इन्टेकका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपालको साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब नेरु १३.७८ करोड अनुदान सहयोगमा पुनर्निर्माण भएको हो । नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको हो ।
मन्त्रीले आफ्नो मन्तव्यमा भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरे ।
उद्घाटन समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे ।
भारत र नेपालको ऐतिहासिक साँस्कृतिक समानता र सम्पदा हाम्रा भावी पुस्ताका लागि संरक्षण गर्न आवश्यक छ । तसर्थ यस्ता सम्पदा क्षेत्रहरुको पुनस्र्थापना गर्ने साझा प्रयास रहेको छ । यो हातेमालोले दुई देशबीचको मैत्री सम्बन्धलाई मजबुत बनाउनुका साथै यसले हाम्रो साझा साँस्कृतिलाई पनि प्रतिबिम्बित गर्दछ ।
भारत सरकारले नेपालका ७ वटा जिल्लामा रहेका २८ वटा साँस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिबद्घता जनाएको छ ।
यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोट जिल्लामा ५०००० निजी आवास, आठवटा जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा दशवटा जिल्लामा १३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको छ ।
यो परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा टेवा पुर्याएको छ ।
तपाईको प्रतिक्रिया