कमल राज पौडेल देवकमल, बर्दिया । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले दुईदिने सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम गरेको छ ।
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाको आयोजना र सोल्टिस होप स्ट्रिट एनिमल रेस्क्यु, गुलरिया बर्दियाको सहकार्यमा चैत्र १७ र १८ गतेसम्म समुदायमा छरिएर रहेका करिब ८० वटा कुकुरहरुको बन्ध्याकरण गरिने भएको हो ।
जिल्लाको विभिन्न ठाउँमा छरिएर रहेका कुकुरलाई संकलन गरेर कुकुर बन्ध्याकरण कार्यक्रम गरिरहेको कुरा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका कार्यालय प्रमुख सागर ढकालले बताए ।
उनले रेविज जस्ता विभिन्न किसिमका रोगहरु र कुकुरका कारण हुने दुर्घटनाबाट समुदायलाई सुरक्षित राख्न कार्यालयले पहिलो पटक कुकुर बन्ध्याकरण कार्यक्रम गरेको जानकारी गराए ।
यसैगरी, रेस्क्यु सेन्टर गुलरियाका संस्थापक अध्यक्ष प्रकाश बहादुर मल्लले सामुदायिक कुकुरको संख्या दिनानुदिन बृद्धि भइरहेको र मानव जनावरको जोखिम पनि बढ्दो देखिएकोले मानव जनावर दुवैलाई सुरक्षित राख्ने उद्देश्यले उक्त कार्यालयसँग सहकार्य गरी कुकुर बन्ध्याकरण गरिएको बताए ।
जिल्लामा सामुदायिक कुकुरको संख्या धेरै भएका कारण कुकुरले पर्याप्त मात्रामा आहार नपाउने हुँदा रिसाहा र टोकाहा हुने भएकाले कुकुरको आक्रमणबाट धेरै बालबालिकाहरुमा रेविज देखिँदा मानव र कुकुरको सम्बन्ध विग्रिएको कुरा पशु चिकित्सक डा.सुमन चौधरीले बताए ।
डा.चौधरी भन्छन्, ‘जिल्लामा जंगल क्षेत्र धेरै भएकोले रेविजको जोखिम बढ्दो छ । जंगल छेउछाउमा रहेका कुकुरहरुमा जंगली जनावरबाट रेविज सर्ने र ती कुकुरहरुबाट अन्य कुकुर हुँदै मानिसमा समेत जोखिम बढ्ने भएका कारण सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो । सामुदायिक कुकुरको संख्या कम गरि मानव र कुकुरको सम्बन्ध पुनस्र्थापन गर्ने लक्ष्य लिएका छौं । अब बन्ध्याकरण गरेको ३ दिन सम्म कुकुरलाई कार्यालयमै राख्ने र त्यसपछि पुनः रेविज विरुद्धको भ्याक्सिन लगाएर समुदायमै छोड्ने छौं ।’
तपाईको प्रतिक्रिया