ध्वनी प्रदुशन रोक्न सुरक्षा निकायलाई गृहमन्त्री लेखीको निर्देशन

समाचार

जनकपुरधाम । मधेश प्रदेशमा हुने गरेको विभिन्न खालका कार्यक्रममा ठूलो अवाजमा डिजे लगायतका साउण्ड सिस्टमले ध्वनी प्रदुशन भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनगुनासो बढन थाले पछि त्यसलाई नियन्त्रणका लागि प्रदेश सरकारले अग्रसरता देखाएको छ ।

प्रदेश सुरक्षा समन्वय समितीको मंगलबार जनकपुरधाममा बसेको बैठकले ध्वनी प्रदुशनले विभिन्न खालको समस्याहरु सृजना गर्ने गरेको ठहर गर्दै नियन्त्रणका लागि हरेक पक्षवाट समन्वय र सहयोगको अपेक्षा समेत गरेको छ ।

प्रदेश सुरक्षा समन्वय समितिका अध्यक्ष एवम गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले जनताको गुनासोलाई सम्बोधन गर्दै तत्काल ध्वनी प्रदुशन नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई बैठकमा निर्देशन दिनु भएको हो ।

बैठकमा जनताले गरेका गुनासाहरु सुनाँउदै मन्त्री लेखीले ध्वनी प्रदुशनका कारण हृदयका रोगीहरुलाई विभिन्न खालका समस्या हुनुको साथ साथै एसइईका विद्यार्थीहरुलाई पठन पाठनमा समेत समस्या भइरहेकोले नियन्त्रणका लागि आवश्यक कदम लिनका लागि मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिनु भयो ।

बैठकवाट ध्वनी प्रदुशन रोकनका लागि प्रदेशभरीका जिल्ला प्रशासन कार्यालय ,चारवटै सुरक्षा निकाय र प्रदेश भरीका स्थानीयतहलाई पत्रपठाउने निर्णय सहित पत्र पठाइएको गृह,सञ्चार तथा कानून मन्त्री लेखीले जानकारी दिनु भयो ।

मन्त्रालयले गरेका निर्णयलाई अटेर गर्नेलाई कानून अनुसारको कारवाही प्रक्रिया अगाडी बढाइने समेत बताइएको छ । गृह,सञ्चार तथा कानून मन्त्रालय समालेको केही दिनमै एक पछि अर्को गरी जनगुनासालाई सम्बोधन गर्न थालिएपछि मन्त्री लेखीले केही गर्ला भने मधेशको जनतामा आशा पलाएको छ ।

मन्त्री लेखीले पदभार ग्रहण गरेकै दिन मन्त्रालयले गर्ने कामकाजको पारदर्शीताका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन गर्ने निर्णय गर्नु भएको थियो । यता मधेश प्रदेश सरकारको यस प्रकारको निर्णयलाई विभिन्न पक्षवाट स्वागत गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ