काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले भोलि शनिबार खुला मञ्चमा गर्न लागेको बृहत जनप्रदर्शन कार्यक्रममा आम नेवाः लगायत सम्पूर्ण राज्यविहीन राष्ट्रका जनताहरुलाई आह्वान गरिएको छ ।
नेवा राष्ट्रिय परिषद्का संयोजक सुमन सायमी र स्वनिगः (उपत्यका) विशेष ब्युरोका संयोजक रविन्द्र कुमार श्रेष्ठले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै खुला मञ्चमा आह्वान गरेका हुन् ।
‘नेपाः मण्डल कायम गरौं । बहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति’ का लागि शनिबार विहान ११ बजेदेखि काठमाडौंको खुला मञ्चमा बृहत् जनप्रदर्शन गर्न लागेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वकै प्राचिनतम सभ्यताहरू मध्येको एक नेवाः सभ्यताका जनताहरूलाई आज २७० वर्ष देखी कायम एकल राष्ट्रिय राज्यको औपनिवेशिकताले समाप्तिको संहारमा उभ्याएको छ । आज नेवाः राष्ट्र आफ्नै स्वदेशबाट विस्थापित हुदैं छ । आफ्नै भूमीमा राज्यविहिन भए पश्चात नेवाः भूमी, भौतिक र अभौतिक संस्कृतीहरू, भूक्षेत्र, श्रोतहरू लुटिएको छ । नेवाः सम्पदाहरू मासेर नेवाःलाई औपनिवेशिकता विस्तार गर्ने अखाडाहरू जस्तै सैनिक मञ्च, सिंहदरवारहरू, न्यायालयहरू, प्रहरी चौकिहरू, शिक्षालयहरू, व्यापारिक केन्द्रहरू खडा गरेका छन् ।’
‘बहुलराष्ट्रिय राज्य नेपालमा मात्र नेवाः लगायत राज्यविहिन राष्ट्रहरूले संघीय लोकतान्त्रिक गणतन्त्रमा निहित औपनिवेशिकतालाई अन्त्य भएको महसुस गर्नेछ । यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने छ र नेपाल सबै नेपालीका लागि निर्माण गर्नेछ । यो क्रान्ति कुनै एक दल वा समुदायबाट सम्भव नै छैन तसर्थ विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी राज्यविहिन तुल्याएका राष्ट्रका सम्पूर्ण जनता जुटेर गौरवशाली नयाँ नेपाल साझा नेपाल निर्माण सम्भव छ ।’ विज्ञप्तिमा भनेका छन् ।
तपाईको प्रतिक्रिया