काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले नेपालमा लोकतान्त्रिक गणतन्त्रको नाममा गोर्खाली एकल राष्ट्रिय सत्ता कायम रहेको बताएको छ । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको उद्घोष भएको हो ।
राष्ट्रिय मुक्ति क्रान्तिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लोकतन्त्र नभई बन्दुकको शासन रहेको आरोप लगाएको छ ।
बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति अर्न्तगत स्वनिगः विशेष व्यूरो तथा नेवाः राष्ट्रिय परिषदले आयोजना गरेको नेपा मण्डल घोषणा गर्ने जनप्रदर्शनमा भएको प्रहरी वर्वरता लगायत थुनामा रहेका घाइतेहरुको उपचार पाउने हकको वेवास्ता गर्दै सरकारले मुद्दा चलाएको घटना प्रति घोर भर्त्सना गर्दै पत्रकार सम्मेलन मार्फत आगामी चैत्र मसान्त सम्मको कार्यक्रमहरू सार्वजानिक गरेको हो ।
पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘गत चैत्र २४ गते भद्रकालीमा भएको बहुल राष्ट्रहरुको भेषभुषामा रहेका झाकिं सहितको शान्तिपूर्ण जनप्रदर्शनमा रयाली पछि सम्पन्न हुँदै गरेको कोणसभामा निषेधित क्षेत्र भन्दै रोक्ने प्रहरी जवानहरु मार्फत अन्धाधुन्द तवरले लाठी चार्ज गर्ने, धरपकड गर्ने, बौद्ध भिक्षुमाथि निर्मम प्रहार गर्ने, भद्रकाली मन्दिरको ढोका फोरेर तथा प्रङ्गनमा रहेका भक्तजनहरुलाई लाठी चार्ज गर्ने, वोन धर्मका धर्म गुरुहरुको ढ्याङ्ग्रो फुटाउने, रमजान व्रत बसेका इस्लाम धर्मावलम्बीहरु जो शान्तिपूर्ण जनप्रदर्शनमा सहभागि थिए उनीहरु माथि क्रूर दमन गर्ने तथा विभिन्न जातिय भेषभुषा लगाएका महिलाहरूलाई छानी छानी निर्मम रुपमा लाठी चार्ज गर्ने तथा पक्राउ गर्ने कार्यले कथित लोकतान्त्रिक गणतन्त्रको नाममा कायम रहेको गोर्खाली एकल राष्ट्रिय सत्ता उदाङ्गो बनेको छ ।’
‘यस्तो एकल राष्ट्रिय सत्ताको विरुद्ध बहुलराष्ट्रिय राज्य निर्माण गर्नको लागि लागेका बहुल राष्ट्रका जनताहरुको शान्तिपूर्ण आन्दोलनमा १२ जनालाई पक्राउ गर्ने तथा एक जनालाई गम्भिर घाइते सहित ४४ जनालाई घाइते बनाउने, अस्पतालमा उपचाररत घाइतेहरूलाई पक्राउ गर्ने जुन काम भएको छ, त्यो भनेको लोकतन्त्रमा जनताको शान्तीपूर्ण रुपमा सभा सम्मेलन गर्न पाउने अधिकारको उल्लघन मात्र हैन, राज्यको वर्वरता हो । यसले यो देशमा लोकतन्त्र हैन, बन्दुकको शासन रहेको प्रष्टाउँदछ ।’ विज्ञप्तिमा भनिएको छ ।
‘नेपाललाई एकल राष्ट्रिय राज्यबाट बहुलराष्ट्रिय राज्य स्थापनार्थ संघर्षरत छौं र पक्राउ परेकाहरूलाई तुरुन्त रिहाइ तथा घाइते भएकाहरूको यथासिघ्र उपचार व्यवस्था गर्नु पर्ने व्यहोरा अवगत गराउदछौ । साथै हाम्रो शान्तिपूर्ण मागहरूलाई वेवास्ता गर्ने काम भएमा हामी थप ससक्त आन्दोलनको कार्यक्रमहरू जस्तै धर्ना, जलुस, विरोध सभा, मसाल जुलुस, चक्का जाम, घेराउ आदि भोली देखी नै देशव्यापी रुपमा संचालन गर्न वाध्य हुने यसै प्रेस वक्तव्य मार्फत जानकारी गराउँदछौ । त्यसले निम्त्याउने जुनकुनै परिस्थितीको जिम्मेवार राज्य स्वयं हुने छ ।’ विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया