मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालीन र दिर्घकालीन योजना आवश्यक : मुख्यमन्त्री यादव

समाचार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढनु पर्ने बताएका छन् ।

संघीय खानेपानी तथा ढल निकासी विभागद्वारा सोमबार धनुषाको लालगढमा आयोजित मधेश प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी वितरण सम्बन्धि परामर्श गोष्ठीमा मुख्यमन्त्री यादवले सो कुरा बताएका हुन् ।

मधेशको दक्षिणी भुभागमा केही वर्ष यता पानीको सतह घटेपछि सुख्खायाममा खानेपानीको हाहाकार हुँदै आएको उल्लेख गदै मुख्यमन्त्री यादवले दुबै खाले योजनालाई अगाडि बढाउन संघीय सरकारलाई आग्रह समेत गरे ।

संघीय सरकारले सुनकोशी मरिन डाईभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरि मधेशका ६ वटा जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकोमा धन्यवाद दिँदै मुख्यमन्त्री यादवले भने, ‘योजना सराहनीय छ । मधेश सरकार हातेमालो गर्न प्रतिबद्ध छ । यो योजना पूरा हुन धेरै समय लाग्छ । तसर्थ तत्कालीन योजना अघि बढाउन आवश्यक छ । हामीलाई सहयोग गर्नुस् । मधेशका चापाकलहरु अहिले नै सुक्न थालेका छन् । तत्कालीन योजनाका लागि संघ सरकारलाई आग्रह गर्दछु ।’

संघीय खानेपानी मन्त्री राजेन्द्र कुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा महिला, बालविकास तथा सामाजिक समितिका सभापति किरण साह, पुर्वखानेपानी मन्त्री महेन्द्र राय यादव, मधेश सरकारका उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंघासन सा कलवार लगायतका वक्ताहरुले मधेशमा खानेपानी आपूर्तिको अवस्था र आगामी रणनीतिबारे आ–आफ्नो धारणा राखेका थिए ।

गोष्ठिमा खानेपानी तथा ढल निकास विभागका निर्देशक कमलराज श्रेष्ठले थोक खानेपानी आपूर्ति प्रणाली सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले सुनकोशी मरिन डाईभर्सनको पानी मध्ये केही भागलाई प्रशोधन गरेर मधेश प्रदेशको धनुषादेखि पर्सासम्म खानेपानी सप्लाई गरि दीर्घकालीन समाधान गर्न सकिने बताए । सो परियोजनाका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४ सय ८८ रुपैयाँ लागत अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ