मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

समाचार

धनुषा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच एक दिवसीय मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मधेस प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री लामिछानेले समस्याको पहिचान भएपछि समाधानको उपाय निस्कने उल्लेख गर्दै उपलब्ध साधनस्रोतमा टेकेर गर्न सक्ने काम गरेका छौं वा छैनौं मनन गरी संगठनको मर्यादा कायम राखेर काम गर्न निर्देशन दिनुभयो । कानुन कार्यान्वयनमा समन्वय गर्दै तोकिएको जिम्मेवारी पूर्ण रूपमा पूरा गर्नुपर्ने उनले बताएका हुन् ।

सीमा क्षेत्रमा खटिएकाहरूको स्रोत र साधनको व्यवस्थापन गरिने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सीमा क्षेत्रमा अनुगमन गर्ने र निगरानीमा राख्ने लगायतका काम गरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेस प्रदेशमा सुरक्षा गोष्ठी गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद दिँदै यसबाट समग्र प्रदेशको शान्ति सुरक्षा सुदृढ हुने विचार व्यक्त गरे ।

उक्त अवसरमा मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, अर्थ सचिव कृष्णहरि पुस्कर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायतले आ–आफ्नो विचार व्यक्त गरे ।

गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा गुणात्मक परिणाम दिने हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्न प्रदेशस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।

सो अवसरमा सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेम ध्वज अधिकारी, गृह मन्त्रालयका सह–सचिव राजेन्द्र देव पाण्डे र श्री नारायण प्रसाद भट्टराईले आ–आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतिकरण गरेका थिए ।

साथै मधेश प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेका थिए । गोष्ठीमा मधेस प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।

गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव एकनारायण अर्यालले मन्तव्य सहित गोष्ठी समापन गरे । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा मधेस प्रदेश अन्तर्गत आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुखहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ