भारतद्वारा दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

समाचार

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु. २.७३ करोड आर्थिक सहयोगमा निर्माण हुने

नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरेका हुन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचरमा उपयोग गरिनेछ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ र दार्चुलाकोे शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको छ ।

कार्यक्रममा बोल्दै शैल्यशिखर नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउनेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ