सिरहा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वान गरेका छन् ।
उद्योग वाणिज्य संघ लहानले आयोजन गरेको लाहान एक्सपोको समापन समारोहमा मुख्यमन्त्री यादवले उद्योग व्यवसायका लागि उपयुक्त भूमि मधेश प्रदेशमा लगानी गर्न आह्वान गरेका हुन् ।
मधेश प्रदेशमा गरिने लगानीको सुरक्षा लगायतको विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले निर्भिक भएर लगानी गर्न आग्रह गरे ।
मधेश विद्रोहको उद्गम भूमि लहान मधेश सरकारका लागि पुज्यनीय भूमि रहेको उल्लेख गर्दै उनले लहानको विकासका लागि गौरवको योजना दिन स्थानीय सरकारलाई आग्रह गरे ।
मधेश सरकारले शहीद संग्रहालयका लागि ३ करोड उपलब्ध गराइसकेको हुँदा जग्गा प्राप्ति र डिपिआर पछि अपुग हुने रकम समेत तत्काल उपलब्ध गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
लहानबासीको मांगलाई सम्बोधन गर्दै बलान नदी नियन्त्रणको काम शुरु भैसकेको जानकारी गराउँदै मुख्यमन्त्री यादवले यसै आर्थिक वर्षमा बलान नदी नियन्त्रणको काम सम्पन्न हुने समेत बताए ।
लहान उद्योग वाणिज्य संघका अध्यक्ष विकास कुमार सारडाको अध्यक्षतामा भएको उक्त समापन समारोहमा प्रदेशसभा सदस्य ललिता दास बिद्रोही, जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी, उपप्रमुख राम चलित्र महतो, उद्योगपति पशुपति मुरारका सहितका बक्ताहरुले सम्बोधन गरेका थिए ।
चैत्र ३० गते शुरु भएको महोत्सव सोमबार सप्पन्न भएको हो । महोत्सवमा नेपाल, बंगलादेश, भारतका १६० व्यापारिक प्रतिष्ठान सहभागी भएको आयोजकले जनाएको छ ।
लहान एक्सपोमा सहभागी हुनु अघि मुख्यमन्त्री यादव प्रदेश सरकारको लगानी जारी वलान नदी नियन्त्रण कार्यको स्थलगत निरिक्षण समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया