उपराष्ट्रपति यादवद्वारा विश्व श्रमिक दिवसको शुभकामना

समाचार

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्व श्रमिक दिवस, २०२४ को अवसरमा समाज, देश र अर्थतन्त्रमा अतूलनीय योगदान पुर्याउने सबै परिश्रमी श्रमिकहरुको योगदानको सम्मान गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली श्रमजीवि दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले भनेका छन्, ‘आजको यो दिवस श्रमिकहरुको त्याग र समर्पणलाई सम्झिने र उनीहरुलाई सम्मान गर्ने महत्वपूर्ण अवसर हो । श्रमिकहरु समाजका आधार स्तम्भ हुन्, जसले हाम्रा आवश्यकताहरुलाई पूरा गर्न अथक परिश्रम गर्दछन् । उनीहरुको योगदान हाम्रो अर्थव्यवस्थामा अमूल्य छ ।’

‘विश्वभरका मजदुरहरुले सामना गरेका संघर्ष र चुनौतीहरुलाई स्वीकार गर्ने र उनीहरुको हित र अधिकारप्रति हाम्रो प्रतिबद्धतालाई पुनः दोहराउने अवसर पनि हो, विश्व श्रमिक दिवस । श्रमिकहरुको अधिकारको रक्षा र उनीहरुलाई प्रोत्साहन गर्न जरुरी छ । उनीहरुका लागि सुरक्षित र स्वस्थ कार्यस्थल उपलब्ध गराउन सक्नु पर्दछ ।’ उनले भनेका छन् ।

श्रमिक दिवसका अवसरमा श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा गर्दै थप समतामूलक र समावेशी समाजको निर्माण गर्ने प्रण गर्न उनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘श्रमिकहरुका लागि सुरक्षित, निष्पक्ष र बृत्ति–विकासका लागि अनुकूल कार्यस्थलसहितको वातावरण निर्माणमा हामी सबैले सहयोग गर्न सक्नु पर्दछ । हामीले यस्तो विश्वको परिकल्पना गरौं, जहाँ प्रत्येक श्रमिकलाई सम्मानपूर्वक व्यवहार गरियोस्, उचित पारिश्रमिक, सभ्य कामको अवस्था र सामाजिक सुरक्षाको अधिकार प्रदान गर्ने वातावरण होस् । कार्यस्थलमा हुने शोषण, भेद्भाव र असमानता उन्मूलनमा सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्न जरुरी छ । ’

उनले भने, ‘अन्त्यमा, विश्व श्रमिक दिवस श्रम अधिकार र सामाजिक न्यायको लागि जारी संघर्षको सम्झना गर्ने दिन पनि हो । यो दिवसलाई हामीले एकता, करुणा र दृढ संकल्पहरुको नवीकरण गर्ने अवसरका रुपमा लिन सक्नु पर्दछ । यस अवसरमा श्रमिकहरुको विगतका संघर्ष र बलिदानहरुको सम्मान गर्दै सामाजिक–आर्थिक न्यायका लागि आफूलाई समर्पित गर्न सके मात्र यो दिवसको सार्थकता र महत्वको पुष्टि हुन सक्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ