काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले केही वर्षयता सर्ने रोगको तुलनामा नसर्ने रोगका कारण धेरै मानिस मृत्युवरण गर्न वाध्य भएकोमा चिन्ता व्यक्त गर्दै मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट पनि मृत्यु हुनेको संख्या उच्च रहेको बताएका छन् ।
काठमाडौंमा शनिबार ‘नेपाल डाइबिटिज’ संस्थाले आयोजना गरेको ‘डाइबिटिज नेपाल अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै उनले मधुमेह नियन्त्रणमा जोड दिएका हुन् ।
‘यी रोगहरुलाई निर्मुल पार्न नसके पनि अनुशासित जीवन शैली, खानपान, शारीरिक व्यायाम, नियमित स्वास्थ्य जाँच र समयमै औषधी सेवन गरी यसलाई नियन्त्रणमा राख्न सकिन्छ ’ उनले भने, ‘मधुमेह ‘क्रोनिक मेटाबोलिक’ रोग हो, जुन रगतमा ग्लुकोज (चिनी) को मात्रा उच्च स्तरमा पुगेपछि लाग्छ । समयमै यो रोगको पहिचान, निदान, व्यवस्थापन र रोकथाम गर्न नसके व्यक्तिको शरीरमा विभिन्न किसिमको जटिलताहरु निम्त्याउन सक्छ ।’
उनले अगाडि भने, ‘मधुमेहले शरीरका महत्वपूर्ण अंगहरु मुटु, रक्त नली, आँखा, मृगौला, गिजा, खुट्टा र स्नायुहरुमा गम्भीर क्षति पुर्याउनुको साथै रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउन सक्छ । ह्रदयघात, पक्षघात, छालामा संक्रमण, खुट्टामा क्षति र दृष्टिदोषको समस्या पनि हुन सक्छ । त्यसैले यी समस्याहरुबाट बच्नका लागि हामी सचेत हुन अति आवश्यक छ ।’
उनले नेपालजस्तो विकाशोन्मुख देशमा जहाँ स्वास्थ्यमा जनताको राम्रो पहुँच नहुनु र रोगहरुको परिक्षण पनि समय–समयमा हुन नसक्नुले समस्या भएको बताए । ‘परिक्षणको अभावले गाउँघरमा मधुमेहबाट संक्रमितको संख्या बढ्दै गएकोमा चिन्तित छु’ उनले भने, ‘शरीरमा प्यान्क्रियाजले प्रयाप्त मात्रामा इन्सुलिनको उत्पादन गर्न छाडेपछि लाग्ने यो रोग तीन दशकयता विश्वमा नाटकीय रुपमा बढेको तथ्यांकहरुले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक प्रतिवेदन अनुसार विश्वभर ४२ करोड २० लाख मानिसमा मधुमेह छ, जसमध्ये अधिकांश निम्न र मध्यम आय भएका देशहरुमा बसोबास गर्दछन् । यसैगरी, प्रत्येक वर्ष १५ लाख मानिसको मृत्यु प्रत्यक्ष रुपमा मधुमेहकै कारणले हुने गरेको छ ।’
उपराष्ट्रपति यादवले यी डरलाग्दा तथ्यांकहरुले मानिस आफ्नै स्वास्थ्यप्रति गम्भिर नरहेको देखिएको उल्लेख गर्दै सबैलाई आ–आफ्नो शरीर र स्वास्थ्यप्रति सचेत, सावधान र गम्भिर बन्न आग्रह गरे । ‘शरीरमा दीर्घकालीन प्रभाव र जटिलताहरु बढाउने मधुमेहलाई उचित औषधि र स्वस्थ जीवनशैलीले व्यवस्थापन÷नियन्त्रण गर्न सकिन्छ । स्वस्थ आहार र शारीरिक गतिविधि बढाउने र धुम्रपान परित्याग गर्न सके मधुमेहलाई रोक्न वा ढिलो गर्न सकिन्छ ’ उनले भने, ‘यति गर्दा गर्दै पनि यो रोग लागेमा नियमित स्वास्थ्य परीक्षण, औषधि सेवन, स्क्रिनिङ गरी यसको जटिलताहरुलाई कम गर्न सकिन्छ ।’
उनले सिमित स्रोत र साधनका कारण स्वास्थ्य परिक्षण, परामर्श र औषधी उपचारका लागि ‘डाइविटिज नेपाल’ जस्ता संस्थाहरु ग्रामिण भेगहरुमा पुग्न जरुरी रहेको बताए । ‘सरकारले चाहेर पनि कतिपय कार्यहरु समयमै गर्न नसकिरहेको अवस्थामा यस्ता संघसंस्थाले गर्ने शिविरहरु महत्वपूर्ण हुन सक्छ’ उनले भने, ‘सम्मेलनमा सहभागी सम्पूर्ण विशेषज्ञहरुलाई स्वास्थ्य जस्तो महत्वपूर्ण विद्यामा आफूले प्राप्त गरेका ज्ञानहरुलाई एक आपसमा बाँड्न सफलता मिलोस् ।’
उनले कार्यक्रममा आयोजक संस्थाका तर्फबाट काभ्रेस्थित धुलिखेल हस्पिटललाई ‘डाइबिटिज अचिभमेन्ट अवार्ड–२०२४’ समेत प्रदान गरे ।
तपाईको प्रतिक्रिया