पार्टी विभाजन गैरजिम्मेवार कार्य हो : नरैनापुर अध्यक्ष शाह

समाचार

नेपालगंज । नवगठित जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इस्तियाक राईलाई आफ्नै गृह जिल्लामा नेता तथा कार्यकर्ताले साथ छाडेका छन् ।

पार्टीका नेता तथा कार्यकर्ताहरु नेता ईस्तियाक राई तिर जाने अनुमान भइरहेका बेला अहिले धमाधम उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) मै रहेको कुरा बाहिर आएको हो ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघिय परिषद सदस्य एवम् बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले आफुसहित सिंगो नरैनापुर क्षेत्रका कार्यकर्ता उपेन्द्र यादवको साथमा रहेको स्पष्ट पारेका छन् ।

विज्ञप्ती जारी गर्दै शाहले अवैधानिक रुपमा दल दर्ता भएको हुँदा आफ्नो पार्टीले केन्द्रीय समितिको निर्णय अनुसार सर्वोच्च अदालतमा कानुनी कारवाहीको लागि मुद्दा प्रक्रियामा जाने भएकाले अदालतको आदेश आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको जिकिर गरे ।

‘तसर्थ अदालतको फैसला हाम्रो पक्षमा आएमा, कसैको बहकाव,लोभ लालच एवंम अन्य कुनै कारणले कुनै पनि निर्वाचित जनप्रतिनिधीले निर्वाचन आयोगमा गई सनाखत गरेको खण्डमा निर्वाचित जनप्रतिनिधीकोहरुको पद स्वतः खारेज हुने भएकोले जनता समाजवादी पार्टी, नेपालमा रहेका सम्पुर्ण निर्वाचित जनप्रतिनिधीहरु सचेत रहन पनि आवहान गर्दछौं ।’

जनता समाजवादी पार्टी, नेपाल बाँकेका जिल्ला समितिका सम्पुर्ण नेता कार्यकर्ता आफ्नो गौरवशाली पार्टी पहिचान वादी, संघियताका सर्जक मधेश मसिहा उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालमा नै एकतावद्ध रहेको शाहले जारी गर्नु भएको विज्ञप्तीमा उल्लेख छ । बाँके जिल्लामा रहेका केन्द्रीय सदस्य, संघिय परिषद् सदस्य, प्रदेश समिति सदस्य एवंम जनवर्गिय संगठनका समिति आफुहरुको साथमा रहेको विज्ञप्तिमा भनिएको छ ।

‘वर्तमान अवस्थामा पार्टीलाई थप मजबुत र एकताबद्ध भएर पहिचान र संघियतालाई सबल बनाउनु पर्ने, विभिन्न आन्दोलनका बिर सहिदहरुको सपना साकार पार्नुपर्ने हो तर संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएको साथै जनता समाजवादी पार्टी, नेपालका बहुमत केन्दीय सदस्यहरु दलप्रति प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितीका व्यक्तिहरु निर्वाचन आयोगमा गई अवैधानिक निवेदनको आधारमा दल विभाजन गरेकोले यस्ता गैरजिम्मेवार कार्यको घोर भत्र्सना गर्दछु,’ विज्ञप्तीमा भनिएको छ ।

यसैगरी जनता समाजवादी पार्टी, नेपाल बाँकेका अध्यक्ष कमरुद्धिन राईले पनि आफु उपेन्द्र यादवकै साथमा रहेको प्रष्ट पारेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका उप–मेयर समेत रहेका राईले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधानिक रुपमा दल दर्ता भएको हुँदा आफ्नो पार्टीले केन्द्रीय समितिको निर्णय अनुसार उपेन्द्र यादव कै साथमा रहेको विज्ञप्ती मार्फत जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ