काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक उत्पादकत्व बढाउन, लैङ्गिक असमानतालाई सम्बोधन गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तिकरण महत्वपूर्ण आवश्यकता भएको बताएका छन् ।
उनले नेपालसहित दक्षिण एशियाली मुलुकका अगुवा महिलाहरुको सहभागितामा ललितपुरमा शुरु भएको ‘साउथ एशियन वुमन्स कन्फेरेन्स अन इकोनमिक इम्पावरमेन्ट–२०२४’ सम्मेलनको आइतबार उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘डिजिटल रूपान्तरण मार्फत महिला सशक्तिकरण आजको आवश्यकता हो ।’ उपराष्ट्रपति यादवले केही सामाजिक मान्यताहरू लैङ्गिक समानताको लागि ठूलो बाधा भएको उल्लेख गर्दै दक्षिण एसियामा आर्थिक वृद्धि, बढ्दो शिक्षा, र घट्दो प्रजनन क्षमताको बावजुद अधिकांश विकासोन्मुख मुलुकहरूको तुलनामा महिलाहरू आर्थिक अवसरहरूबाट बञ्चित हुनु चिन्ताको विषय भएको बताए ।
‘आर्थिक सशक्तिकरणमा महिलाको आर्थिक अधिकार, न्यायको प्रवर्द्धन र कार्यस्थलहरूमा लैङ्गिक अन्तर रोक्नु पर्ने जस्ता विषयहरु समावेश छन्’ उनले भने, ‘ त्यस अनुरुप कार्य हुन आवश्यक छ । अझ नीति निर्माण र आर्थिक विकासमा महिलाको भूमिकालाई थप एकीकृत गर्दै अघि बढ्न सक्नु पर्दछ ।’
उपराष्ट्रपति यादवले राजनीतिमा नेपालले महिला सशक्तिकरणको क्षेत्रमा केही फड्को मारे पनि लैङ्गिक समानता, महिला उद्यमशीलता र वित्तीय स्रोतमा पहुँच जस्ता महत्वपूर्ण क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताए ।
‘व्यापार, उत्पादन, पर्यटन व्यवस्थापन, कृषि र अन्य विभिन्न क्षेत्रमा महिला सहभागिता आवश्यक छ’ उनले भने, ‘महिलाहरुको आर्थिक सशक्तिकरणमा बाधा पु¥याउने चुनौतिहरूलाई पहिचान गरी सामूहिक रूपमा सम्बोधनका लागि यो सम्मेलन कोशेढुंगा बन्ने विश्वास लिएको छु ।’
उनले महिलाहरूलाई विकासको मूलधारमा ल्याउनु आजको संसारमा प्रगति र सान्दर्भिकताका लागि आवश्यक मात्र नभई अत्यन्तै महत्वपूर्ण भएको समेत बताए ।
‘यो सम्मेलनले दक्षिण एसियाली महिला उद्यमीहरू र आर्थिक क्षेत्रमा क्रियाशिल महिलाहरूबीच नेटवर्किङका लागि एउटा राम्रो अवसर प्राप्त हुने विश्वास पनि लिएको छु’ उनले भने, ‘नेपाली महिला उद्यमीहरू र सहभागिहरुका लागि नेटवर्किङका अलावा अन्य दक्षिण एसियाली देशहरूबीच संयुक्त व्यापार व्यवसायलाई प्रवर्द्धन गर्न सम्मेलनले उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना छ ।’
तपाईको प्रतिक्रिया