महोत्तरी । मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषणा भएको छ । मटिहानी नगरपालिकाले आफ्नो परिचयमा साक्षर नगर थपेको छ ।
उक्त साक्षर नगर घोषण कार्यक्रमको शुभारम्भ जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन लाल कर्णले गरेका थिए ।
मटिहानी नगरपालिकाले आयोजना गरेको साक्षर नगर घोषणा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन लाल कर्णले बिहीबार भव्य समारोहका बीच नगर प्रमुख हरि प्रसाद मण्डललाई प्रमाण पत्र प्रदान गरेर साक्षर नगर घोषण गरेका हुन् ।
मटिहानी नगरपालिका प्रमुख मण्डलले घोषणा सभामा बोल्दै अक्षर चिनेर साक्षर भएका नागरिकलाई निरन्तरता दिन आग्रह गरे ।
त्यसैगरी उक्त कार्यक्रममा सहभागी प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथि लगायत उपस्थित सबैले यस नगरपालिकालाई निरन्तर शिक्षातर्फ उन्मुख गरी पूर्ण साक्षर नगरपालिका बनाउने प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।
यस नगरपालिकालाई साक्षर नगर बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था, व्यक्ति, कर्मचारी र सहजकर्ताहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान समेत गरिएको थियो ।
मटिहानी नगरपालिकाले साक्षर नगर बनाउन २०८० साल असोज महिनादेखि नै साक्षरता अभियान संचालन गर्दै आएको थियो, जसमा पालिकाभरि जम्मा ७२ वटा साक्षरता सहजकर्ता मार्फत अभियान चलाइएको थियो ।
१५ देखि ६० वर्ष उमेर समूहका महिला पुरुषलाई व्यावहारिक सीप सहितको साक्षरता जस्तै आफ्नो नाम ठेगाना लेख्न सक्ने, परिवारको नाम ठेगाना लेख्न पढ्न सक्ने, आफूले गर्ने सामान्य आर्थिक कारोबारको जोड घटाउ गर्न सक्ने, मोबाईल चलाउन सक्ने, घडी हेर्न जान्ने लगायतका साक्षरताका १२ वटा सूचक पूरा गर्ने करीब ३६०० नागरिकलाई नगरपालिकाले साक्षर बनाएको र अब यस नगरपालिकाको साक्षरता प्रतिशत ९५.१६% पुगेको कुरा शिक्षा शाखा प्रमुख एवं साक्षर नगर घोषणा समितिका सदस्य सचिव चन्देश्वर साहले साक्षरता प्रतिवेदन मार्फत जानकारी दिए ।
तपाईको प्रतिक्रिया