प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएका छन् ।

जसपा नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका छन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत दलको समर्थन छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ