अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिदै

समाचार

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिने भएको छ । गैर आवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना तथा स्थानीय नेपाली संघसंस्थाहरुको सहभागितामा यहि आईतबार न्यूयोर्कको म्यानहाटन शहरमा परेड गर्न लागिएको हो ।

परेडलाई सफल बनाउन न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले बक्तव्य जारी गर्दै नेपाल डे परेडमा सहभागि हुन डायस्पोराका सम्पूर्ण नेपालीलाई आव्हान गरेका छन् ।

वक्तव्यमा भनिएको छ– ’नेपाल र नेपालीको पहिचान, कला, संस्कृति र सभ्यताको आफ्नै इतिहास र विरासत सगरमाथाजस्तै उँचो छ । यो गौरवशाली इतिहास र विरासतको सम्र्बद्धन नेपालमा मात्र नभई नेपालीहरु रहेका हरेक ठाँउबाट हुँदै आएको छ । परेडले अमेरिकामा नेपाल र नेपालीका लागि आफ्नो पहिचान, एकता र अस्तित्व स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।’

गैर आवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजना एवं स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समर्थनमा नेपाल डे परेड हुन लागेको हो । कार्यक्रमले नेपालको मौलिक भेषभुषा, कला, संस्कृतिको प्रबर्द्धनसंगै नेपाल र अमेरिकाको सम्बन्धलाई जनस्तरमा पुर्याउन मद्दत गर्ने प्रवर्द्धक श्रेष्ठले दावी गरे ।

उनले नेपाल डे परेडले नेपालको पर्यटन प्रबर्द्धनमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । वक्तव्यमा भनिएको छ– ’कार्यक्रम सफल बनाउनु तपाईं–हामी सबै नेपालीको दायित्व हो । कार्यक्रममा सहभागिता जनाएर नेपाली एवं नेपाली मूलका अमेरिकी नागरिकहरुले अपनत्व महशुस गराउने ऐतिहासिक अवसर पनि हो ।’

उनले नेपाल डे परेडमा सम्पूर्ण नेपाली समुदायका महानुभावहरुलाई सहभागिताका लागि आव्हान गर्दै सवै मिलेर म्यानहाटन शहरबाट सगरमाथाको देश नेपाल र नेपालीको कला–संस्कृति विश्वभर फैलाउन र गौरवशाली विरासतको प्रबर्द्धनमा आ–आफ्नो तर्फबाट योगदान पु¥याउन आग्रह गरेका छन् ।

सन् २०१६ देखि प्रत्यक वर्ष गणतन्त्र दिवसको अवसर पारेर नेपाल डे परेड गरिदै आएको छ । परेडमा न्यूयोर्क लगायत न्यूजर्सी र कनेक्टिकट राज्यबाट पनि नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता हुने गरेको छ । परेडमा नेपाली कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी समेत गरिनेछ । परेड म्यानहाटन शहरमा र्याली र बाजागाजा सहित परिक्रमा पछि वृहत सभा गरिनेछ ।

परेडका लागि ई. टेम्बा शेर्पालाई कन्भेनर तोकिएको छ भने सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समितिहरु निर्माण गरिएको परेड एवं एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्लले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ