युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव

समाचार

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मस्तिष्कघात सामान्यतया ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भए पनि नेपालमा यो समस्या युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताएका छन् ।

उनले ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को प्रथम अन्तरर्राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उक्त चिन्ता व्यक्त गर्नुभएको हो । ‘हाम्रो देशमा ४५ वर्ष मुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुनु चिन्ताको विषय हो ’ उनले भने, ‘यो डरलाग्दो अवस्थालाई न्यूनीकरण गर्न अति आवश्यक छ ।’

उपराष्ट्रपति यादवले रोगहरु बढ्नुको मुख्य कारण मानिसको अव्यवस्थित जीवनशैली भएको बताए । ‘आरामदायी जीवनशैली, धुम्रपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ । हामीले हाम्रो दैनिकी र जीवनशैलीमा सुधार गर्न जरुरी छ’ उनले भने, ‘नियमित व्यायाम, स्वस्थकर खानपान, आवधिक स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शबाट धेरै रोगलाई नियन्त्रण गर्न सकिन्छ ।’

उनले न्यूरोसंग सम्बन्धित रोगको निदान र उपचारमा जोड दिँदै शरीरका विभिन्न अंगमा रोगको दीर्घकालीन असरलाई कम गर्न सक्नु पर्ने बताए । उनले नेपालमा सहरी क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था केही सामान्य भए पनि दुर्गम गाउँवस्तीमा बसोबास गर्ने आम नागरिकलाई समयमै उपचार पाउन अझै गाह्रो रहेको समेत बताए ।

‘अझ जटिल र घातक रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ । यो बाध्यता हटाउँदै अन्तर्राष्ट्रिय स्तरको सेवा स्वदेशमै उपलब्ध गराउन सक्नु पर्दछ,’ उनले भने, ‘न्यूरोसंग सम्बन्धित रोगको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षाका लागि सरकारसँगै यस क्षेत्रमा क्रियाशील संघसंस्था पनि प्रतिबद्ध हुन जरुरी छ ’

उनले ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ले न्यूरोलोजीसँग सम्बन्धित रोगहरूको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै न्यूरोलोजीको क्षेत्रमा देखिएका समस्याहरू पहिचान गर्न र त्यसको समाधानका लागि यो सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपराष्ट्रपति यादवले प्रा.डा. दिनेश विक्रम शाह, प्रा.डा. रविन्द्र श्रेष्ठ र डा. बिरेन्द्र कुमार विष्टलाई संस्थाका तर्फबाट सम्मानपत्र समेत समर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ