वीरगन्ज । पर्सा, बारा र रौतहटका किसानलाई लक्षित गरी किसानले उत्पादन गर्ने अन्न भण्डारण गर्नका लागि गृह सञ्चालनमा आएको छ ।
वीरगञ्जका युवा व्यवसायीहरूको लगानीमा पर्साको बिरुवा गुठीमा ६३ करोडको लागतमा निर्माण गरिएको अन्न भण्डारण गृह सञ्चालनमा आएको हो ।
वीरगन्जमा आयोजित कार्यक्रममा नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडका महाप्रबन्धक समीरराज सत्यालले “साईलो प्रविधिमा” आधारित रहेर वैज्ञानिक ढंगले अन्नलाई सुरक्षित रुपमा भण्डारणको व्यवस्था हुने गरी अन्न भण्डारण गृह सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् ।
सुरक्षित प्रविधियुक्त कृषि बजारीकरणलाई समेत टेवा पुग्ने र किसानलाई पनि सहुलियत रुपमा सहजता प्रदान गर्ने उद्देश्यले वैज्ञानिक अन्न भण्डारण गृह सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष आनन्द बगारीयाले बताए ।
नेपालमा वार्षिक करिब २० लाख टन मकै उत्पादन हुने गरेको तथा करिब ४ लाख टन मकै वर्षेनी आयात समेत हुने गरेको बताउँदै आनन्द बगारीयाले खाद्यान्न सुरक्षित राख्ने भण्डारणको व्यवस्था नभएका कारण किसानले नोक्सानी बेहोर्दै आएको दाबी गरे ।
कम्पनीकी सञ्चालिका सदिच्छा श्रेष्ठका अनुसार चीन र जर्मनीबाट आयात गरिएका अत्याधुनिक उपकरण र प्रविधिको प्रयोगबाट हाल मुख्य तीन उत्पादन गहुँ, मकै र भटमास भण्डारण गृह सुनसरी, पर्सा र कपिलवस्तुमा सञ्चालनमा ल्याइएको हो ।
कम्पनीका अर्का सञ्चालक सतिसचन्द्र श्रेष्ठले किसानका उत्पादन खरिद विक्री गर्दै आएका व्यापारीहरूलाई नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको साइलो भण्डारण प्रविधि उपभोग गर्न आग्रह गरे ।
नेपाल हाउजिङ्ग कम्पनी लिमिटेडले किसानलाई आवश्यक पर्ने बीउ, मल, विषादी, उपकरण तथा अन्य आवश्यक वस्तु बैङ्क तथा वित्तीय व्यवस्थापन अन्तर्गत धितो व्यवस्थापनका साथै नोक्सानी बिमाको समेत व्यवस्था गरिएकाले सानादेखि ठुला किसानहरू लाभान्वित हुने भण्डारण गृहका अर्का सञ्चालक प्रदीप अग्रवालले बताए ।
तपाईको प्रतिक्रिया