काठमाडौं । प्रतिपक्षी दलहरुको नाराबाजीबीच प्रतिनिधिसभाको बैठकले सरकारको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
बैठकले राष्ट्रपतिले यसअघि संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको समृद्धिका लागि विशिष्ट कार्यक्रमहरू समेटिएको बताउँदै सामाजिक न्याय, रोजगारी सिर्जना र विकासलाई जोड दिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सहकारी प्रकरणमा संसदीय छानबिन बनाउने विषय सहमति नजिक पुगेको भन्दै आजभोलि नै दलहरुबीच सहमति जुट्ने विश्वास समेत व्यक्त गरेका हुन् ।
बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदद्वय चित्रबहादुर केसी र प्रेम सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृति गरेको थियो ।
यसअघि, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्व अर्थमन्त्री एवम् सांसद विष्णु पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रममा प्रतिपक्षले नाराबाजी गर्ने नभई खुला हृदयले समर्थन गर्नु पर्ने बताए ।
आगामी जेठ १५ गते दिउसो १ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक बर्ष २०८१÷०८२ को बजेट प्रस्तुत हुनेछ ।
तपाईको प्रतिक्रिया