बबई क्याम्पसमा डा.अहिराजद्वारा पृथ्वीनारायण शाहको नाममा छात्रवृत्ति कोष स्थापना

समाचार

कमल राज पौडेल (देब कमल), बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ४ अन्तर्गत रहेको बबई बहुमुखी क्याम्पसमा मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नाममा छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

सोमबार क्याम्पसमा आयोजित एक समारोहमा डा.अहिराजले एक लाख एक हजार रूपैयाँ हस्तान्तरण गरेर “राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष” स्थापना गरेका हुन् ।

पूर्वप्रदेश प्रमुख डा.अहिराजले समारोहलाई सम्बोधन गर्दै, बर्दियाका जेहेन्दार विपन्न वर्गका विद्यार्थीलाई यस कोषले पढ्नमा केही सहज होस् भनी जिल्लाकै सबैभन्दा पुरानो र पहिलो क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरिएको बताए ।

उनले मृत्युपछिको जीवनलाई सार्थक बनाउन मानिसले आफ्नो आय–आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनु पर्ने धारणा राखे ।

कार्यक्रममा सो क्याम्पसका क्याम्पस प्रमुख बिरेन्द्र राज लम्सालले यस क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले प्रारम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैंक व्याजबाट प्रत्येक वर्ष पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा कार्यक्रमको आयोजना गरी छात्रवृत्ति उपलब्ध गराइने कुरा जानकारी गराए ।

यस अघि डा.अहिराजले सप्तरीको रुपनगर नन्दराज संग्रोला क्याम्पसमा कोषको स्थापना गरेका थिए ।

गुलरिया ४ निवासी स्वर्गीय भोजराज बराल र डेउडाकला निवासी तत्कालीन जिल्ला पञ्चायत सभापति सुरेन्द्र चन्द ठकुरीको अथक प्रयासले २०४४ सालमा बबई बहुमुखी क्याम्पसको स्थापना भएको थियो । स्थापना पश्चात बर्दियाका विद्यार्थीहरु उच्च शिक्षाका लागि जिल्ला बाहिर जाने बाध्यात्मक परिस्थितिको अन्त्य भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ