काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेपालमा नौलो गणतन्त्र ल्याएरै छोड्ने दाबी गरेका छन् ।
जनमत पार्टीद्वारा मंगलबार काठमाडौंको भृकुटीमण्डलमा गणतन्त्र दिवसको अवसरमा आयोजित नौलो गणतन्त्रको आन्दोलन घोषणा कार्यक्रम डा.राउतले सो दाबी गरेका हुन् ।
उनले भनेका छन्, ‘ प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीयता यो देशमा हामीले ल्याऔं – नौलो गणतन्त्र पनि ल्याएरै छोड्छौं – हामीले प्रमाणित गर्यौं ।’
उनले नेपालको संसद् तथा सरकार मुख्य चार नेताका कब्जामा रहेको टिप्पणी गरेका छन् । उनले संसद्मा प्रस्तुत बजेटमा एक महिनासम्म छलफल हुने तर कमा, फुल स्टप केही परिवर्तन नहुने र चार जना नेताले जे भन्छन् त्यही हुने गरेको टिप्पणी गरे ।
उनले भने, ‘चार दलका नेताहरूले संसद्लाई बन्धक बनाउनु भएको छ, संसद् मात्र होइन, वर्षौँदेखि त्यही नेता प्रधानमन्त्री, मन्त्री हुने गर्नुभएको छ, यसबाट मुक्तिका लागि नौलो गणतन्त्रको घोषणा गर्नुको विकल्प छैन ।’
देशलाई विकल्प दिनेगरि नौलो गणतन्त्रका लागि संघर्ष सुरु गरेको बताउँदै उनले २०८४ अघि नै नौलो गणतन्त्रका लागि आन्दोलन सुरु गरिसक्नुपर्ने धारणा राखे । उनले भने, ‘जबसम्म देशको उन्नति प्रगति हुँदैन, विकास हुँदैन, बालबच्चाको शिक्षा र रोजगारमा पहुँच हुँदैन तबसम्म संघर्ष जारी रहन्छ ।’
यसैगरी, जनमत पार्टीका उपाध्यक्ष ई.बसन्त कुशवाहाले जनमत पार्टी मधेश प्रदेशमा निर्णायक अवस्थामा रहे पनि पार्टी सत्ता र कुर्सीका लागि सरकारमा नजाने बताए ।
उनले जनतासँग वाचा गरेको कुरा पुरा गर्न मात्र आफ्नो पार्टी सरकारमा जाने गरेको दाबी गरे । अगामी चुनावमा जनमत पार्टी निर्णायक हुनुपर्ने कुरामा जोड दिँदै उनले त्यसका लागि ४० लाख सदस्य बनाउनुपर्ने बताए । उनले जनमत पार्टीले मधेशलाई मात्र होइन देशलाई पनि विकल्प दिने बताए ।
यस्तै, अर्का उपाध्यक्ष नरसिंह चौधरीले मधेशमा सीके राउतकै चर्चा रहेको बताउँदै सबै पार्टीका अध्यक्षहरू सरकारमा जान तछाडमछाड गर्छन् तर जनमत पार्टीका अध्यक्ष सरकारमा नगएर पार्टी सञ्चालन गर्नुहुन्छ । त्यसैले जनताले उहाँको प्रशंसा गर्छ,’ उनले भने ।
अर्का उपाध्यक्ष ई. दीपक साहले पार्टीमा सबैले अनुशासन पालन गर्नुपर्ने कुरामा जोड दिए । उनले जबसम्म अनुशासनमा पार्टी चल्दैन तबसम्म कुनै उद्देश्य प्राप्ति नहुने बताए ।
महासचिव चन्दन सिंहले संघीय सरकारले मधेशसँग बजेटमा बेइमानी गरेको बताउँदै मधेशी जनताले आफ्नो हकका लागि लड्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया