मधेशका मुख्यमन्त्री यादवले पाएन विश्वासको मत

समाचार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा मागेको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ ।

मुख्यमन्त्रीले राखेको विश्वासको पक्षमा ५० जना प्रदेश सभाका सदस्यहरूको मत परेको छ भने विपक्षमा ५३ जना प्रदेश सभा सदस्यहरूको मत परेको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका हुन् ।

मुख्यमन्त्री यादवको विश्वासको पक्षमा जनता समाजवादी पार्टी नेपालका १९ जना, नेपाली काँग्रेसका २२ जना, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका छन् ।

यसैगरी मुख्यमन्त्री यादव माथि विश्वास छैन भन्ने पक्षमा नेकपा एमालेका २५ जना, जनमत पार्टीका १३ जना, नेकपा माओवादी केन्द्रका ९ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना गरेर ५३ जनाको मत परेको छ ।

केन्द्रमा सत्ता परिवर्तन भएको केही समयपछि मधेश प्रदेश मुख्यमन्त्री यादव नेतृत्वको सरकार १७ महिना पछि पाँचौँ पटक प्रदेश सभामा विश्वासको मत मागेपछि वैधानिक रुपमा अस्वीकृत भएर जसपा नेतृत्वको सरकार पूर्ण रुपमा नै अल्पमतमा परेको छ ।

मुख्यमन्त्रीको विपक्षमा गठबन्धन बनेका दलहरूका बीचमा यस अघि नै मुख्यमन्त्रीको विषयमा सहमति भइसकेको छ । जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेशमा नयाँ सरकार गठन हुने निश्चित भएको छ ।

यस अघि मुख्यमन्त्रीले विश्वासको मत अस्वस्थताको कारण देखाउँदै जेठ २८ गते लिने पत्र प्रदेश सभामा पठाएपछि सभामुख रामचन्द्र मण्डलले कार्यसूची संशोधन गर्न नमानेपछि करिब पौनै सात बजे तीर मुख्यमन्त्रीले विश्वासको मत प्रदेशसभाबाट मागेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ