मधेशको मुख्यमन्त्रीमा सिंह नियुक्त, १४ सदस्यीय मन्त्रिपरिषद् गठन

समाचार

जनकपुरधाम । मधेश प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा जनमत पार्टीका सांसद सतिश सिंह नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् । सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त हुँदा प्रदेश प्रमुखले त्यही दिन नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न शुक्रबारसम्मको समय दिएकी थिइन् ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

मुख्यमन्त्री सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त गरेका हुन् ।

त्यस्तै माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई नियुक्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन् ।

गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीकी बिमला अन्सारी तरुनम र नागरिक उनमुक्ति पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन् ।

मधेश प्रदेशको मन्त्रिपरिषद्मा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय, शारदा थापा शिक्षा तथा संस्कृत राज्यमन्त्री र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ