मोरङ । नेपाल सरकार गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ शुरू भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विराटनगरमा आइतबार आयोजित समारोह बीच उक्त गोष्ठीको उद्घाटन गरेका छन् ।
उक्त अवसरमा गृहमन्त्री लामिछानेले विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, सरोकारवाला निकायसँगको समन्वय र समयमै स्रोत साधन उपलब्ध गराउन प्रदेश र स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताए । नीति नियमको अधिनमा रहेर कानून पालना गर्दै उत्कृष्ट काम गर्न उनले निर्देशन दिए ।
गृहसचिव एकनारायण अर्यालको अध्यक्षतामा संचालित उद्घाथटन सत्रमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यबारे जानकारी दिए ।
गोष्ठीको उद्घाटन सत्रमा कोशी प्रदेश अन्तर्गतका १४ जिल्लामध्ये ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गरे ।
गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेपाली सेनाका रथी अशोकराज सिग्देल क्षेत्री, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिवसीय उक्त गोष्ठी सोमबार सम्पन्न हुने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया