तेस्रो कार्यकालका लागि प्रधानमन्त्री मोदीद्वारा शपथ ग्रहण

समाचार

नयाँदिल्ली । भारतको लोक सभा निर्वाचनमा नवनिर्वाचित भारतीय जनता पार्टी (भाजपा) नेता तथा कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् ।

राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् ।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ सहभागी छन् ।

सन् २०१४ मा प्रधानमन्त्री बनेका उनको अघिल्लो दुई कार्यकाल धेरै प्रमुख पहलहरू द्वारा चिह्नित गरिएको छ । प्रधानमन्त्री मोदीले ‘सबका साथ, सबका विकास, सबका विश्वास’ र ‘विकासउन्मुख र भ्रष्टाचारमुक्त शासन’ को नारामा जोड दिएका थिए ।

प्रधानमन्त्री मोदीले आफ्नो पहलमा आयुष्मान भारत, प्रधानमन्त्री जन धन योजना, सबैका लागि आवास, प्रधानमन्त्री श्रम योगी मन धन योजना, ‘उज्ज्याला योजना’ र पीएम किसान सम्मान निधि, उडान, मेक इन इन्डियालगायतका योजना अघि बढेका छन् ।

उनीसँगै उनको मन्त्री परिषद्मा भाजपाका केन्द्रीय अध्यक्ष जगत प्रसाद नड्डा, राजनाथ सिंह, अमित शाह र नितिन गडकरीले क्याविनेट मन्त्रीका रूपमा सपथ लिएका छन् ।

नयाँ मन्त्रीमण्डलमा जनता दल युनाइटेडका राष्ट्रिय अध्यक्ष ललन सिंह र मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि सपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ