कार्यवाहक राष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

समाचार

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जन–राजनीतिक परामर्शदात्री सभा (सीपीपीसीसी) को राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेको छ ।

भेटघाटमा शुभकामना आदानप्रदानपछि नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, उच्च तथा जनस्तरीय भ्रमण, परस्पर सहयोग, व्यापार तथा पर्यटन लगायतका महत्वपूर्ण विषयमा छलफल भएको छ ।

कार्यवाहक राष्ट्रपति यादवले बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणप्रति खुशी व्यक्त गर्दै नेपाल र चीनबीच सदियौंदेखि रहि आएको सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरुमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र अरु उच्च बनेको बताए ।

‘हाम्रा दुई मुलुकहरुले लामो इतिहास बोकेको मित्रवत सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्व दिएका छन्’ उनले भने, ‘नयाँ उचाई र आयाममा पुगेको नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकहरुको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकांक्षा पुरा गर्न महत्वपूर्ण आधारशीला प्रदान गरेको छ ।’

कार्यवाहक राष्ट्रपति यादवले दुई देशबीचको उच्चस्तरीय भ्रमणले हाम्रो सम्बन्धलाई थप उचाईमा पुर्याएको तथा सहकार्यका क्षेत्रमा थप विस्तार गर्न मद्दत मिलेको बताए । ‘छिमेकी मित्र राष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहि आएको छ ’ उनले भने, ‘चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुर्याउदै आएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।’

उनले सन् २०२६ सम्म नेपाल अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको र तीव्र आर्थिक एवं सामाजिक विकाससंगै नेपाली आम नागरिकको उन्नति र समृद्धिका लागि चीनले नेपाल अल्प विकसित राष्ट्र समूहबाट स्तरोन्नति हुनु पूर्व र पश्चात थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

‘नेपालको कूल बाह्य व्यापारमध्ये चीनसंगको हिस्सा करीब १४ प्रतिशत रहेको छ । यसलाई बढोत्तरी गर्न थुप्रै सम्भावनाहरु छन्’ दुई मुलुकबीचको व्यापार सम्बन्धमा उनले भने, ‘द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षबाट नेपाललाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरूमा उत्पादक क्षमता बढाउनुका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरूको सहयोगका लागि चीन सरकारलाई आग्रह गर्दछु ।’

कार्यवाहक राष्ट्रपतिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घघाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्याउनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताए । उनले चीनको ‘सिचुआन विमान’ले छेन्दु र पोखराबीच चार्टर्ड उडान गेरेको तथा छिन्दाउ र काठमाडौंबीच उडान सुचारु भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पोखरा र चीनका विभिन्न सहरबीच व्यावसायिक उडान शुरु हुनेमा विश्वास समेत व्यक्त गरे ।

‘चौथो शताब्दीदेखि हाम्रा दुई देशबीच सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्ध भद्र, राजकुमारी भृकुटी र कलाकार अरनिको लगायत व्यक्तित्वहरूले जनस्तर सम्बन्ध र सांस्कृतिक आदानप्रदानलाई समृद्ध बनाउन ठूलो योगदान पुगेको स्मरण गर्न चाहन्छु’ उनले अगाडि जनस्तरीय सम्बन्धको चर्चा गर्दै भने, ‘सुमधुर द्विपक्षीय सम्बन्धका आयामहरुमध्ये जनस्तरको सम्बन्ध एउटा महत्वपूर्ण आयाम रहेकोले दुई देश बीचको सम्बन्ध जनस्तरमा अझै सुदृढ बनोस् । ’

कार्यवाहक राष्ट्रपति यादवले चीन सरकारले हालै (१ मे २०२४) देखि लागू हुने गरी चीन भ्रमण गर्ने नेपालीका लागि भिसा शुल्क मिनाहा गरेको जानकारी पाएर खुसी लागेको उल्लेख गर्दै यस मैत्रीपूर्ण कदमका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरे ।

उनले कमान्थाङ्का–चेन्ताङमा २५ मे २०२४ मा सम्पन्न नेपाल–चीन सीमा व्यापारिक नाकाहरूको हालै संयुक्त रुपमा पुनः उद्घाटन हुनले हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान गरेको विश्वास पनि व्यक्त गरे । ‘उक्त अवसरमा हामीले सबै १४ वटा परम्परागत सीमा नाकाहरु पुनः खोल्ने घोषणा ग¥यौं, जसले दुवै पक्षका मानिसहरू, सामान र सेवाहरूको सीमापार आवतजावतलाई सहज बनाउन योगदान पु¥याउनेछ’ उनले भने, ‘यसले हाम्रा जनतालाई सकारात्मक सन्देश दिएको छ ।’

चीनको ३० औं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रिय कमिटीका सदस्य तथा १४ औ सीपीपीसीसीका राष्ट्रिय कमिटीका उपाध्यक्ष महामहिम बेटरले चिनियाँ प्रतिनिधिमडलको तर्फबाट नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सवल र सुदृद्ध बनाउने पक्षमा चीन रहेको बताए । उनले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप दिगो, बलियो र प्रगाढ बनाउनु पर्नेमा जोड दिँदै नेपालको विकासमा चिनियाँ सहयोग निरन्तर जारी रहने समेत बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ