‘दलित समुदायका पत्रकारहरुले पनि विभेदको सामना गर्न परिरहेको छ’

समाचार

जनकपुरधाम । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष भोला पासवानले पत्रकारिता क्षेत्रमा पनि समाजिक प्रभाव कायम रहेकोले दलित समुदायका पत्रकारहरुले विभेदको सामना गर्नु परिरहेको बताएका छन् ।

मंगलबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनमा प्रमुख अथितिको आसनबाट बोल्दै उपाध्यक्ष पासवानले सो कुरा बताएका हुन् ।

पत्रकार महासँघले सदस्यता वितरण गर्दा दलित र महिलालाई प्राथमिकता दिएको भएपनि नयाँ सदस्यता वितरण र नवीकरणमा जिल्ला, प्रदेश र केन्द्रले विभेद गरिरहेको बताउँदै उपाध्यक्ष पासवानले दलित समुदायका पत्रकारहरुले सशक्त रुपमा प्रतिरोध गर्नुपर्ने बताए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालले देशभरि महासंघका सदस्यता नवीकरण र शुद्धिकरणका नाममा दलित समुदायका पत्रकारमाथि गरिएको विभेदबारे अध्ययन गरेर सुझाव दिएको बताए । पत्रकारिता क्षेत्रमा समेत दलित समुदायका पत्रकारहरुले अवसर पाउन सवालमा विभेदको सामना गर्नु परिरहेको छ ।

आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले दलित समुदायका पत्रकारहरुलाई छात्रवृत्ति, पत्रकारितालगायतका अवसरमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दलित समुदायका पत्रकारहरुले मिसन पत्रकारिता गर्नुपर्ने बताउँदै यादवले भने, ‘पत्रकारिता पेशामा दलित समुदायललाई टिक्न मुश्किल छ ।’ तथ्यमा अधारित पत्रकारिता गर्न सुझाव दिँदै प्राधिकरण अध्यक्ष यादवले दलित समुदायका पत्रकारहरु संगठित भएर पेशागत हकहितका लागि लड्न आग्रह गरेका थिए ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकारिता क्षेत्रमा पनि विभेद कायम रहेको बताउँदै पत्रकार महासंघले दलित समुदायका नयाँलाई सदस्यता दिने त कता हो कता भएका सक्रिय रहेका दलित समुदायका पत्रकारहरु समेतलाई शुद्धिकरणका नाममा हटाउने प्रपञ्च गरिरहेको बताए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको मधेश प्रदेश अध्यक्ष समेत रहेका दासले संघलाई सक्रिय रुपमा परिचालन गर्दै दलित अधिकार कार्यान्वयनमा सहयोग पुग्ने ढंगले काम गर्नुपर्ने बताए ।

कार्यक्रममा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले मधेश प्रदेशमा दलितमाथि दैनिक जातीय विभेद र हिंसाका घटना घटिरहेको जानकारी गराएका थिए ।

‘दलित समुदायको १७ प्रतिशत जनंसख्या रहेको मधेश प्रदेशमा मानवअधिकार उल्लंघनका घटनामा भने दलित समुदायका २१ देखि २९ प्रतिशतसम्म पीडित बन्नु परेको छ ।’ सप्तरीको पातोमा दलित समुदायलाई ऐलानी जग्गाबाट हटाउने नाममा आधा दर्जनभन्दा बढीलाई निर्घात कुटपिट गरेको बताउँदै पासवानले दलित समुदायका पत्रकारहरुलाई एकताबद्ध भएर विषय केन्द्रित पत्रकारिता गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा दलित अगुवा सुनिता मेस्तरले दलितमाथि घटना हुँदा प्रमाण नष्ट भएपछि पत्रकार तथा अधिकारकर्मी पुग्ने गरेको बताए । अशोक धन्कारद्वारा संचालित कार्यक्रममा पत्रकार राजेश सक्सेनाले सहभागीहरुलाई स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ