कपिलवस्तु । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको १५औं नगरसभाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु. १ अर्ब २० करोड ३२ लाख ९६ हजार रुपैयाँ बराबरको कुल आय अनुमान गरी सोही बराबर खर्च गर्ने गरी आय तथा व्ययको अनुमानित बजेट सार्वजनिक गरेको हो ।
‘खुशी नगरबासी ः संबृद्ध बुद्धभूमि’ भन्न नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । सभामा मेयर केशव कुमार श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगरका गौरवका योजना तथा अधुरा योजना, सामाजिक आर्थिक तथा पूर्वाधार निर्माणसँगै गुणस्तरीयतामा बृद्धि, कृषि तथा पशु विकासको आधुनिकीकरण प्रविधिमैत्री गुणस्तरीय सेवा आत्मनिर्भर र उद्यमशीलतामा जोड र साझेदारीलाई प्राथमिकतामा राखिएको मेयर श्रेष्ठले बताए ।
नीति तथा कार्यक्रममा उत्पादकत्व अभिवृद्धि गर्ने, आन्तरिक रोजगारी प्रवद्र्धन र श्रमको सम्मानमा जोड दिने महत्वपूर्ण योजना सार्वजनिक गरिएको हो ।
त्यस्तै विपदको सम्बोधन र स्वास्थ्य क्षेत्रको सुधारमा जोड दिने, सामाजिक सुरक्षा तथा संरक्षणको प्रत्याभूति दिलाउने, नगर गौरवका योजना, अधुरा तथा निरन्तर योजनालाई प्राथमिकता दिने, सुशासन अभिवृद्धि गर्ने र समन्वय तथा साझेदारी प्रवद्र्धन गर्ने उद्देश्यसहित नीति तथा कार्यक्रम सार्वजनिक भएका छन् । आगामी आर्थिक बर्ष दमकल खरिदकालागि एक करोड बजेट बिनियोजन गरिएको छ ।
यस्तै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समेत बजेट बृद्धि गरिएको छ । संघीय सरकारले बजेट कटौती गरे पनि नगरपालिकामा बजेट केही भए पनि थप गरी बिनियोजन गरिएको मेयर श्रेष्ठले बताए ।
उपमेयर मीरा थारुले बिनियोजन बिधेयक २०८१ प्रस्तुत गरेकी थिइन । कार्यक्रममा ७ वटा बिधेयक प्रस्तुत गरिएको थियो ।
आर्थिक ऐन २०८१, दररेट २०८१, स्वास्थ्य सेवा ऐन, भौतिक पुर्वाधार तथा ब्यवस्थापन ऐन रोजगार रणनीति २०८१ देखि २०८५ र बिनियोजित ऐन २०८१ प्रस्तुत गरिएको थियो ।
बिनियोजन र दररेट उप मेयर थारु र बाकी बिधेयक बिधेयक समितिका संयोजक संदीप कुमार पाण्डेयले प्रस्तुत गरेका थिए । कार्यक्रम र बिस्तृत बजेटको बिवरण आउने असार १५ भित्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया