जनकपुरधाम । भ्वाइस अफ जनकपुर समूहले आयोजना गरेको ‘जल संकटः चुरे भाबर संरक्षण र स्थानीय जिम्मेदारी’ विषयक गोष्ठी कार्यक्रममा विज्ञ तथा सहभागीहरुले तराईमा बढ्दै गइरहेको पेयजल र सिंचाईको निमित्त पानीको संकट रोक्न पानीको रिचार्जिंगको प्राकृतिक प्रक्रियालाई पूर्ववत फर्काउन चुरे भाबर क्षेत्रको संरक्षण गरी त्यहाँ भइरहेको विनाश रोक्न माग गरेका छन् ।
उक्त कार्यक्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा. विजय कुमार सिंहले कार्यपत्र प्रस्तुत गर्दै चुरे भाबर क्षेत्रको संरक्षणले मात्र पानीको प्राकृतिक रिचार्जिंग हुन सक्ने हुँदा चुरे भाबर क्षेत्रको संरक्षण आवश्यक भएको बताएका थिए ।
उनले वन कटानी, अतिक्रमित वसोवास र शहरीकरण तथा प्राकृतिक श्रोतको अति दोहनले गर्दा यस्तो स्थिति हुन आएको बताए । डा. सिंहले तत्काल संघ, प्रदेश र स्थानीय तहले समन्वित कार्य योजना र त्यसको कार्यान्वयन आगाडि नल्याए स्थिति विकराल हुने चेतावनी दिएका थिए ।
कार्यक्रममा विज्ञहरु ई. रत्नेश्वर लाल कर्णले आफ्नो प्रस्तुतिमा पानी रिचार्जिंगको सम्पूर्ण प्रक्रिया, पानीको स्थिति र गर्न सकिने उपायहरुबारे विस्तारपूर्वक प्रकाश पारेका थिए ।
त्यस्तै चुरे भाबर क्षेत्रमा कार्यरत नागदेव यादवले आफ्नो प्रस्तुतिमा चुरे भाबर क्षेत्रको महत्व र स्थितिबारे बोल्दै त्यस क्षेत्रमा भइरहेका कार्यहरु र त्यसका उपलब्धिहरु सहभागी समक्ष राखे ।
एकीकृत समाजवादी पार्टीका नेता शितल झा र ई. प्रकाश चन्द्र साहले समेत आ–आफ्नो विचार राखेका थिए । कार्यक्रममा जनकपुर उपमहानगरपालिका र महेन्द्रनगर नगरपालिकाका मेयरहरुका साथै सबै पार्टीबाट राजनीतिककर्मीहरु उपस्थित भएका थिए ।
उक्त कार्यक्रमको अन्तमा आफ्नो विचार राख्दै तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले चुरे भाबर क्षेत्रमा विभिन्न परियोजनाहरु चलाइएको भए पनि विनासको क्रम नै बढ्दै गएको एवं वन कटानी, अतिक्रमित वसोवास र शहरीकरण तथा प्राकृतिक श्रोतको अति दोहन रत्ती पनि कम नभएको गुनासो गरेका थिए ।
अध्यक्ष लालले सामुदायिक बनको अवधारणा विफल भएको र यसले जतातै वन विनाश नै बढेकोले खारिज गरिनु पर्ने र वन कटानी, अतिक्रमित वसोवास रोक्न चुरे भाबर क्षेत्रलाई राज्य संरक्षित विशेष क्षेत्र बनाउन पर्ने मांग गरेका थिए ।
भ्वाइस अफ जनकपुर जनतासंग सम्बन्धित सबै प्रकारका ज्वलन्त मुद्दाहरुबारे छलफल गरी सामूहिक रुपमा विचार व्यक्त गर्न हालै गठित समूह हो ।
यस समूहमा तमलोपाका वृषेशचन्द्र लाल र डा. विजय कुमार सिंह, नेपाली काँग्रेसका नेता र प्रदेश सभा सदस्य रामसरोज यादव, नेकपा एकीकृत समाजवादीका नेता शीतल झा, वामपन्थी वुद्धजीवी रोशन जनकपुरी लगायतकाहरु छन् ।
तपाईको प्रतिक्रिया