मधेशमा आद्रा महोत्सव मनाइयो

समाचार

जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टीले मधेशको पर्व आद्रा महोत्सव मनाएको छ ।

तमलोपाको महिला संगठन तराई–मधेश महिला संघको आयोजनामा आज जनकपुरधामको कभर्ड हल निरको श्री राजर्षि विध्यालयको प्राङ्गणमा आद्रा महोत्सव उत्साहका साथ मनाइएको छ ।

मधेशका किसानहरू वर्षाको स्वागतमा आद्रा नक्षत्र भरि १५ दिनसम्म आफलाई पाइक परेको दिनमा आद्रा पूजा गरी राम्रो वर्षा र धानको राम्रो उब्जनीको निमित्त कुल देवताको पूजा गर्छन् । यो पर्व हरेक किसान परिवारको घरमा हुन्छ ।

यसमा कुल देवतालाई खीर, पुरी, आम, जामुन आदि चढाइन्छ । तराई–मधेश लोकतान्त्रिक पार्टीले आद्रा महोत्सव किसानहरुको दिवसको रुपमा मनाएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस, एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी लगायतका राजनीतिक दलहरुबाट पनि सहभागीहरु थिए । महोत्सवमा बिन्दु ठाकुर, पूनम झा, भारती झा आदिले मिथिला मधेशका लोकगीतहरु प्रस्तुत गरेका थिए ।

आद्रा महोत्सवलाई सम्वोधन गर्दै तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले देशमा विकसित नयाँ परिस्थितिमाथि टिप्पणी गर्दै देशमा जस कसैको शासन होस् हामीलाई मतलब नभए पनि कसैले समावेशी समानुपातिक प्रतिनिधित्वको प्रावधान खोस्न खोजे चुप लागेर बस्न सकिन्न भन्दै त्यस्तो स्थितिमा देश पुनः द्वन्द्वमा फस्ने चेतावनी दिए ।

यसै कार्यक्रममा तराई–मधेश लोकतान्त्रिक पार्टी का वरिष्ठ नेता डा. विजय कुमार सिंहले आद्रा पूजाको महत्वमाथि प्रकाश परेका थिए ।

उनले काँग्रेस एमाले बीचको समझौतालाई सत्ता र शक्ति निमित्तको गठबन्धन भन्दै यो न लोकतान्त्रिक गठबन्धन हो न वामपन्थी नै भने । यी दुई पार्टी बीच भएको समझौतामा संविधान संशोधन बारे जे जति भनिएको छ, त्यसबाट यी मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी जनजाति विरुद्ध छन् भन्ने एक पटक फेरि स्पष्ट भएर आएको भन्दै उनले सबैलाई सचेत हुन आग्रह गरे ।

कार्यक्रममा महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप पाण्डे, एकीकृत समाजवादीका नेता शीतल झा, नेपाल लोकतान्त्रिक पार्टीका कृष्णचन्द्र साह, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, समाजसेवी प्रकाशचन्द्र साह, बीभा ठाकुर, पूर्व उपमेयर रेणु झा, जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष जीतू राउत लगायतकाले सबैलाई शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ