काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
उक्त अवसरमा शुभकामना आदानप्रदानपछि नेपाल र इजिप्टबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले भने, ‘सन् १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजिप्टबीचको मित्रता, सद्भाव र समझदारीपूर्ण सुमधुर द्विपक्षीय सम्बन्धप्रति हामी सन्तुष्ट छौं ।’
उनले नेपाल र इजिप्ट दुवै असंलग्न राष्ट्रहरुको समूह (नाम) का संस्थापक सदस्य रहेको तथा संयुक्त राष्ट्र संघ, जी–७७ तथा विश्व व्यापार संगठन लगायतमा सदस्य रही अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा मामिलाहरुमा सहकार्य गर्दै आएकोमा सन्तोष व्यक्त गरे ।
‘विश्वमा अन्याय, सीमान्तीकरण र गरिबी रहेसम्म असंलग्न आन्दोलनको सान्दर्भिकता निरन्तर कायम रहनेमा नेपाल र इजिप्टको समान धारणा रहेकोप्रति म अत्यन्त हर्षित छु’ उनले भने, ‘इजिप्ट सरकारले नेपाल सरकारका अधिकारीहरुलाई तालिम तथा नेपाली विद्यार्थीहरुलाई विभिन्न संकायमा छात्रवृत्ति प्रदान गरी अध्ययन गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दछु ।’
उपराष्ट्रपति यादवले भेटमा इजिप्टको राष्ट्रिय दिवसको अवसरमा राजदूत नोहा र उनी मार्फत इजिप्टका जनतालाई बधाई दिँदै शान्ति र समृद्धिको शुभकामना दिए । उनले राजदूत नोहाको कार्यकालमा नेपाल र इजिप्टबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास समेत व्यक्त गरे ।
राजदूत नोहाले नेपालको उन्नति, प्रगति र विकासको प्रशंसा गर्दै इजिप्ट दुई मुलुकको आपसी हित र चासोमा समान धारणाका साथ अघि बढ्न ईच्छुक रहेको बताएकी थिइन् ।
तपाईको प्रतिक्रिया