जनकपुरधाम । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेशसभाको आइतबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
यसअघि प्रदेशसभा बैठकमा विनियोजन विधेयक माथि मन्त्रालयगत छलफल तथा त्यसपछि मन्त्रीहरूको जवाफ आएपछि मुख्यमन्त्री सतिश कुमार सिंहले पारित गर्नका लागि प्रस्ताव गरेपछि सभामुख रामचन्द्र मण्डलले प्रदेश सभामा निर्णयार्थ पेश गर्दा विनियोजन विधेयक २०८१ सर्वसम्मतले पारित भएको हो ।
विनियोजन विधेयकको विपक्षमा कुनै सांसदले मत जाहेर नगरेकोले सर्वसम्मतले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए ।
असार १ गते तत्कालीन अर्थमन्त्री भरतप्रसाद साहले मधेश प्रदेशसभामा आगामी आर्थिक वर्षको लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात् कुल बजेटको ३६.४५ प्रतिशत रहेको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात् ६३.५५ रहेको छ ।
बजेट ल्याएको चोथो हप्तामा मात्र बजेटमाथि छलफल सुरु भएको थियो । बजेट ह्याक भएको भन्दै जनता समाजवादी पार्टी नेपाल लगायतका ४ दलले विरोध जनाएपछि बैठक अवरुद्ध हुँदै आएको थियो ।
सर्वदलीय बैठकपश्चात् बसेको बैठकले उच्च स्तरीय छानविन समिति बनाउने निर्णय भएपछि प्रदेश सभामा बजेट माथिको छलफल एक्कै दिनमा सकेर पारित भएको छ ।
यसअघि बैठकमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको शीर्षकमा १ सय रुपैयाँ कटौती गर्नु पर्ने प्रस्तावलाई सभामुख मण्डलले प्रदेश सभामा निर्णयार्थ पेश गर्दा बहुमतले अस्वीकृत भएको थियो ।
तपाईको प्रतिक्रिया