इमरान खान, कपिलवस्तु । कोरोनाकालपछि कपिलवस्तुमा धुमधामसँग मुहर्रम पर्व मनाइएको छ ।
मुस्लिमहरुको तेस्रो प्रमुख चाड मुहर्रम पर्व कपिलवस्तुमा बुधबार मुस्लिम र हिन्दुहरुले सयुक्त रुपमा मनाएका हुन् । एक आपसमा भाइचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लिमहरुले हर्षोल्लास र धुमधामका साथ मुहर्रम पर्व मनाएका हुन् ।
सो अवसरमा मुस्लिमहरुले विशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति लागि उनीहरुले कामना समेत गरेका थिए। जिल्लाका सयभन्दा बढी स्थानमा लाग्ने करबला (चिहान वा युद्धको मैदान) मा मेला गर्न हजारौं श्रद्धालु भक्तजनहरु आएका थिए ।
यो पर्वमा हजरते इमामे हुसैनको प्रतिकको रुपमा तहाजियालाई पूजाअर्चना गरिएको थियो। जिल्लाका १० वटै पालिकामा रहेको कर्बलामा तहजियालाई सेलाइएको थियो।
भाकल गरी तहजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, सम्वृद्धि तथा मनोइच्छा पूरा हुने गरेको भक्तजनहरु बताउँछन्। साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक विश्वास रहेको छ।
यसैबीच सदरमुकाम तौहिलवास्थित घरमा राखिएको ताहाजियाालाई तौहिलवा बजारमा परिक्रमा गरी कपिलवस्तु नगरपालिका– १ स्थित करबलामा बिसर्जन गरीएको थियो। सो अवसरमा मुस्लिम समुदायले अली र हुसेनको नारा समेत लगाएका थिए।
मुहर्रमकै अवसरमा कपिलवस्तु नगरपालिका– १ मस्जिद टोलमा बस्ने मुस्लिमहरुले खीर, बि¥यानी लगायतका परिकार वितरण गरेका थिए। इस्लाम धर्मका प्रर्वतक इमाम हुसनेको सम्झनामा यो पर्व मनाइन्छ। १४ सय वर्ष पहिले इमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको सम्झना स्वरुप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्म गुरुहरु बताउँछन् ।
यजिद नामक शासकविरुद्ध युद्धका क्रममा शाहदत प्राप्त गरेका थिए। अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ। इस्लामिक नयाँ वर्ष हिजरी सम्वत् १ देखि १० दिनसम्म यो पर्व मनाइने मुस्लिम धर्म गुरुहरुले बताउँछन् ।
मोहर्रमको १० औ तारिखलाई आसुरा भनिने तथा त्यसै मस्जिमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको छ। यो पर्वमा हिन्दु समुदायले ढोल, तासा, नगाडासहितको परम्परागत बाजा बजाई नाचगान गर्ने प्रचलन रहेको छ।
साथै मुहर्रमका दिन तलवार, लठ्ठी नचायर सहासिक प्रदर्शन समेत गरिन्छ। घरमा पूजा (नमाज, फतिया ) गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करवलामा लगेर विसर्जन गरिन्छ।
मुहर्रम पर्वलाई लक्षित गरी जिल्लाका १० मध्य ६ पालिकाले साउन २ गते स्थानीय बिदा दिएका छन् । कपिलवस्तुको शुद्धोधन, यशोधरा, मायादेवी, बिजयनगर गाँउपालिका तथा महाराजगंज र कृष्णनगर नगरपालिका समेत ६ पालिकाले स्थानीय बिदा दिएका छन् ।
तपाईको प्रतिक्रिया