राजनीतिक स्थिरता कायम गर्ने सर्तमा नयाँ सरकारलाई समर्थन : सांसद खान

समाचार

काठमाडौँ । जनमत पार्टीका प्रतिनिधिसभा सदस्य अब्दुल खानले मुलुकका विद्यमान समस्या समाधान गर्ने र राजनीतिक स्थिरता कायम गर्ने सर्तमा नयाँ सरकारलाई समर्थन गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा भाग लिँदै सांसद खानले सर्तका आधारमा प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

सांसद खानले धेरै नागरिकले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतलगायत आधारभूत आवश्यकताबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै यी समस्या समाधानतर्फ सरकार केन्द्रित हुनुपर्ने बताए ।

त्यस्तै युवा विदेशिने क्रम अझै नरोकिएकोले स्वदेशमै रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँले आवश्यकता औँल्याए ।

अहिलेको मन्त्रिपरिषद्मा दलित र मुस्लिम समुदायको प्रतिनिधित्व हुन नसकेकोमा खानले दुःख व्यक्त गरे । “अहिले हाम्रा अगाडि धेरै चुनौती छन्, ती चुनौतीलाई यो सरकारले पार गर्नेछ भन्ने अपेक्षाका साथ विश्वासको मतको पक्षमा मतदान गर्नेछौँ”, खानले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ